२०८३ मंसिर ४ • शुक्रबार

थामेको काखबाट उच्च १४ हिमालको शिखरसम्म : पासाङ टेण्डी शेर्पाको आरोहण यात्रा

Text size

फुर्पा शेर्पा, काठमाडौं। हिमालसँग उनको सम्बन्ध आजको होइन। विश्व प्रसिद्ध पर्वतारोहीहरूको जन्मथलोका रूपमा परिचित खुम्बुको थामेमा जन्मिएर हुर्किएका पासाङ टेण्डी शेर्पाका लागि हिमाल बाल्यकालदेखि नै आकर्षणको केन्द्र थियो। हिउँले ढाकिएका अग्ला शिखरहरू उनका लागि टाढाबाट हेर्ने दृश्य मात्र थिएनन्, भविष्यमा आफ्नै जीवनसँग जोडिने यात्राका आधार पनि साबित भए ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५, हिलाजुङका पासाङ सन् २००९ देखि निरन्तर पर्वतारोहण क्षेत्रमा सक्रिय र अहिले एक अनुभवी क्लाइम्बिङ गाइडका रूपमा परिचित छन्।

डेढ दशकभन्दा लामो आरोहण यात्रामा उनले अनेकौँ हिमाल चढे, जोखिमको सामना गरे र दर्जनौँ आरोहीलाई शिखरतर्फ डोर्याए। यही यात्राले उनलाई विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल सफलतापूर्वक आरोहण गर्ने दुर्लभ समूहमा पुर्‍यायो।

तर पासाङको कथा केवल शिखरको उचाइको कथा होइन। यो एउटा हिमाली गाउँबाट सुरु भएको सपना, निरन्तर मेहनत र अवसरलाई पछ्याउँदै अन्तर्राष्ट्रिय पर्वतारोहणको उचाइसम्म पुगेको यात्राको कथा हो।

हिमालको काखमै हुर्किएको बाल्यकाल

थामे क्षेत्रलाई पर्वतारोहणको इतिहाससँग जोडेर हेर्ने गरिन्छ। यही क्षेत्रमा जन्मिएका चर्चित आरोही विश्व प्रसिद्ध छन् । यही वातावरणमा हुर्किएका पासाङले सानैदेखि हिमाल र आरोहीहरूको जीवन नजिकबाट देखे।

हिमाल उनका लागि अपरिचित संसार थिएन। गाउँको परिवेश, स्थानीय संस्कृति र हिमाली जीवनशैलीले उनको मनमा पर्वतप्रतिको आकर्षण गहिरिँदै गयो।

“थामे क्षेत्रमा जन्मिएर हुर्किएको हुनाले सानै उमेरदेखि हिमालप्रति विशेष आकर्षण र लगाव थियो,” पासाङ आफ्नो यात्रालाई सम्झँदै भन्छन्। “त्यही आकर्षण समयसँगै पेशामा बदलियो।”

ट्रेनिङ पिकदेखि आठहजारे सम्म

पर्वतारोहणमा प्रवेश गरेपछि पासाङले क्रमशः आफ्नो अनुभव बढाउँदै, निर्खादै लगे। प्रारम्भिक आरोहण र तालिमपछि उनले आठहजार मिटरभन्दा अग्ला हिमालमा पाइला राखे। सन् २०११ मा कञ्चनजङ्घाबाट सुरु भएको उनको आठ हजारे यात्रालेपछि मनास्लुलगायत विश्वका अन्य अग्ला हिमालतर्फ बाटो खोल्यो।

हरेक हिमालले उनलाई नयाँ चुनौती दियो। कहिले अत्यधिक चिसो, कहिले बदलिँदो मौसम, कहिले कठिन भौगोलिक अवस्था त कहिले आरोहीको सुरक्षाको जिम्मेवारी—यी सबैसँग जुध्दै उनले आफ्नो अनुभवलाई निरन्तर फराकिलो बनाए। शिखर झैं उच्च र अटल बनाए । आजसम्म उनले आठ हजार मिटरभन्दा अग्ला हिमालमा ३२ पटक सफल आरोहण गरिसकेका छन् ।

सगरमाथाको शिखरमा १० पटक

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नु नै धेरैका लागि जीवनकै सबैभन्दा ठूलो सपना हुन्छ। तर पासाङका लागि सगरमाथाको यात्रा एकपटकमा रोकिएन। उनले अहिलेसम्म सगरमाथा १० पटक सफलतापूर्वक आरोहण गरिसकेका छन्।

एक अनुभवी गाइडका रूपमा उनका लागि सगरमाथाको प्रत्येक आरोहण व्यक्तिगत उपलब्धिभन्दा पनि जिम्मेवारीको यात्रा हो। आफूसँगै रहेका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्‍याउनु र सकुशल फर्काउनु उनको प्राथमिकता रहँदै आएको छ।

उच्च हिमाली वातावरणमा लामो समय काम गर्दा उनले जोखिम व्यवस्थापन, टोली नेतृत्व र कठिन परिस्थितिमा निर्णय लिन सक्ने क्षमता विकास गरे।

१४ पिक—तर कुनै ठूलो योजना थिएन

पासाङको आरोहण यात्राको सबैभन्दा उल्लेखनीय अध्याय हो—विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालको सफल आरोहण। रोचक कुरा के छ भने, उनले सुरुदेखि नै १४ पिक पूरा गर्ने योजना बनाएका थिएनन्।

सन् २०२१ मा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जासँग भेट भएपछि उनको आरोहण यात्राले नयाँ गति लियो। त्यसपछि निम्ससँगै निरन्तर काम गर्ने अवसर पाए। गाइडका रूपमा विभिन्न अभियानमा सहभागी हुँदै जाँदा एउटा शिखरपछि अर्को शिखर पार गर्दै गए।

“मेराे विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आराेहण गर्ने कुनै योजना थिएन,” पासाङ भन्छन्, “काम गर्दै जाँदा, गाइड गर्दै जाँदा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढ्ने मौका मिल्यो।” यसरी योजना बनाएर भन्दा पनि निरन्तर काम, अनुभव र अवसरको संयोजनबाट उनले १४ पिकको लक्ष्य पूरा गरे। सन् २०२४ मा विश्वका विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालको आरोहण पूरा भयो।

थामेबाट विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढ्ने पहिलो व्यक्ति

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण पूरा गर्नु पासाङको व्यक्तिगत उपलब्धि मात्र होइन। यससँग उनको जन्मथलो थामेको नाम पनि जोडिएको छ।

उनका अनुसार थामेबाट विश्वका १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्ने उनी पहिलो व्यक्ति हुन्।

थामेबाट सगरमाथा आरोहण गर्ने धेरै आरोही छन्। तर विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालकाे शिखर चुम्ने उपलब्धिले उनलाई आफ्नै जन्मभूमिसँग विशेष रूपमा जोडेको छ।

“यो मेरो व्यक्तिगत सफलता मात्रै होइन,” उनी भन्छन्, “मेरो जन्मथलोको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा अझ मजबुत बनाउन सकेकोमा मलाई गर्व लाग्छ।”

सबैभन्दा कठिन : नाङ्गा पर्वत र अन्नपूर्ण-१

पासाङका लागि पाकिस्तानको नाङ्गा पर्वत र नेपालको अन्नपूर्ण–१ सबैभन्दा चुनौतीपूर्ण हिमालमध्ये पर्छन्।

विशेषगरी अन्नपूर्ण–१ को दोस्रो क्याम्पदेखि तेस्रो क्याम्पसम्मको खण्ड जोखिमपूर्ण रहेको उनको अनुभव छ। निरन्तर कठिन भूभाग पार गर्दै अघि बढ्नुपर्ने भएकाले त्यहाँ हरेक कदममा सावधानी आवश्यक हुन्छ।

हिमालमा जोखिम कहिल्यै पूर्ण रूपमा हट्दैन। अनुभवी आरोहीका लागि पनि मौसम, भूगोल र परिस्थितिले नयाँ परीक्षा लिइरहेको हुन्छ।

हिमालमा सबैभन्दा ठूलो कुरा टिमवर्क

पासाङको अनुभवमा हिमाल आरोहण केवल व्यक्तिगत साहसले सफल हुँदैन। मौसम बिग्रियो भने योजनाअनुसार अघि बढ्न कठिन हुन्छ। त्यसमाथि आरोही र गाइडबीच समन्वय नहुँदा जोखिम अझ बढ्न सक्छ।

“मौसम बिग्रियो भने गाह्रो हुन्छ,” उनी भन्छन्, “कहिलेकाहीँ क्लाइन्टले कुरा नमान्ने, टिमवर्क नमिल्ने भयो भने पनि चुनौती हुन्छ।” त्यसैले उनका लागि सुरक्षा, अनुशासन, टिमवर्क र जिम्मेवारी पर्वतारोहणका आधार हुन्।

पर्वतारोहण पेशा होइन, जीवनशैली

पासाङका लागि हिमाल चढ्नु केवल आम्दानीको माध्यम होइन। “पर्वतारोहण मेरो पेशा मात्र होइन, जीवनशैली र पहिचान हो,” उनको भनाइ छ। प्रत्येक आरोहणले उनलाई केही न केही सिकाएको छ—अनुशासन, धैर्य, सहनशीलता र प्रकृतिप्रतिको सम्मान।

उच्च हिमाली क्षेत्रमा काम गर्दा आफ्नो सुरक्षा मात्र होइन, आफूसँग रहेका आरोहीहरूको जीवनको जिम्मेवारीसमेत आफ्नो काँधमा हुने उनी बताउँछन्। यही जिम्मेवारीले उनलाई एक अनुभवी र विश्वसनीय गाइडका रूपमा स्थापित गरेको छ।

सगरमाथापछि आकान्कागुवा र अमाडब्लमको अनुभव

पासाङको आरोहण अनुभव आठ हजार सम्म मात्र सीमित छैन्। उनले दक्षिण अमेरिकाको सर्वोच्च शिखर आकान्कागुवा पनि सफलतापूर्वक आरोहण गरिसकेका छन्।

नेपालकै प्राविधिक रूपमा चुनौतीपूर्ण र आकर्षक

हिमालमध्ये एक पर्ने अमाडब्लम पनि उनले ८ पटक सफलतापूर्वक आरोहण गरेका छन्। यी आरोहणले उनको अनुभवलाई हिमालको उचाइ मात्र होइन, फरक भूगोल र फरक आरोहण शैलीसम्म विस्तार गरेको छ।

अब नजर ‘सेभेन समिट’मा

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल पूरा गरेपछि पनि पासाङको आरोहण यात्रा रोकिएको छैन्।

अब उनको अर्को लक्ष्य हो—विश्वका सातै महादेशका सर्वोच्च सात शिखर आराेहण पूरा गर्नु। यस अभियानमा केही शिखर आरोहण गरिसकेका उनी अहिले बाँकी पाँचवटा शिखर पूरा गर्ने तयारीमा छन्।

उनका लागि यो अर्को व्यक्तिगत चुनौती मात्र होइन। नेपालको पर्वतारोहण क्षमता, नेपाली गाइडहरूको दक्षता र हिमाली समुदायको पहिचानलाई विश्वसामु थप स्थापित गर्ने अवसर पनि हो।

एउटा गाउँको नामलाई शिखरसँग जोड्ने सपना

पासाङको कथा एउटा हिमाली युवाको व्यक्तिगत सफलतामा मात्र सीमित छैन्। उनको हरेक आरोहणसँग उनको गाउँ, थामे र नेपाल जोडिएको छ।

उनले सगरमाथा १० पटक चढेका छन्। विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालमा ३२ सफल आरोहण गरेका छन्। विश्वका १४ वटै आठहजार मिटरभन्दा अग्ला हिमालको शिखरमा पुगेका छन्। तर अझै उनको यात्रा रोकिएको छैन् ।

हिमालले उनलाई उचाइ मात्र दिएको छैन्—पहिचान दिएको छ, अनुशासन सिकाएको छ र प्रकृतिलाई सम्मान गर्न सिकाएको छ। अब उनको आँखामा सात महादेशका सात सर्वोच्च शिखर छन्।

थामेको काखबाट सुरु भएको पासाङ टेण्डी शेर्पाको यात्रा आज विश्वका अग्ला शिखरसम्म पुगेको छ। तर उनका लागि हरेक शिखर अन्त्य होइन—अर्को यात्राको सुरुआत हो।

सगरमाथा १० पटक, आठ हजार मिटरभन्दा अग्ला हिमालमा ३२ सफल आरोहण र विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालकाे शिखर चुमेका पासाङ टेण्डी अब ‘सेभेन समिट’को तयारीमा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर