
काठमाडौं। नेपालको हिमाली सम्पदा, साहसिक पर्यटन, कला, संस्कृति तथा परम्परालाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रवर्द्धन गर्ने उद्देश्यले अस्ट्रेलियाको सिड्नीमा ‘नेपाल फेस्टिभल सिड्नी २०२६’ भोलि (नोभेम्बर ७) आयोजना हुँदैछ।
मार्क्यु होम्स (Markq Homes) को प्रस्तुतिमा सिड्नीस्थित डार्लिङ हार्बरको टुम्बालङ पार्कमा आयोजना हुने महोत्सवको तयारी पूरा भएको आयोजक एनआरएनए अस्ट्रेलिया एससीसी एनएसडब्ल्यू (NRNA Australia SCC NSW) ले जनाएको छ।
आयोजकका अनुसार महोत्सवले अस्ट्रेलियामा रहेका नेपाली परिवार, साथीभाइ तथा अस्ट्रेलियाली समुदायलाई एकै ठाउँमा भेला गराई नेपालको विविध संस्कृति, परम्परा, पर्यटन र राष्ट्रिय पहिचानको उत्सव मनाउने अवसर प्रदान गर्नेछ।
महोत्सवले नेपाल र अस्ट्रेलियाबीचको सांस्कृतिक सम्बन्ध थप सुदृढ गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धन, हिमाली सम्पदाको पहिचान र नेपाली समुदायका उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

