
काठमाडौं। ‘फार्म टु फेसन–क्लाइमेट अवेयरनेस रनवे २०२६’ कार्यक्रम बाजुरामा सफलतापूर्वक सम्पन्न भएको छ।
नोभेम्बर ४ तारिखमा सम्पन्न उक्त कार्यक्रम फेसनका माध्यमबाट जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्ने, स्थानीय स्रोतसाधनको प्रवर्द्धन गर्ने तथा हिमाली समुदायको आर्थिक सशक्तीकरणमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको थियो।
KASA को पहल तथा Threads of the Himalayan Foundation को आयोजनामा सम्पन्न कार्यक्रममा फेसन, जलवायु सचेतना, सांस्कृतिक संरक्षण, ग्रामीण सशक्तीकरण र दिगो पर्यटनलाई एउटै मञ्चमा जोडिएको थियो।

Threads of the Himalayan Foundation की अध्यक्ष रमिला नेम्कुल श्रेष्ठका अनुसार कार्यक्रमले नेपालको हिमाली क्षेत्रमा भेडापालन तथा स्थानीय ऊनको सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। यसमार्फत किसान, स्थानीय सीप, महिला उद्यमी तथा लघु उद्यमलाई फेसन उद्योगसँग जोड्ने दीर्घकालीन प्रयास अघि बढाइएको छ।
कार्यक्रमले जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायका आवाजलाई उजागर गर्दै दिगो उत्पादन, प्राकृतिक स्रोतको संरक्षण र परम्परागत स्थानीय ज्ञानको महत्त्वलाई समेत प्राथमिकता दिएको छ। साथै, बाजुरा तथा समग्र सुदूरपश्चिम क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने श्रेष्ठले अपेक्षा गरेकी छन् ।
Threads of the Himalayan Foundation की संस्थापक तथा KASA की सञ्चालक रमिला नेम्कुलले यस अभियानलाई फेसनमार्फत सामाजिक परिवर्तन, रोजगारी तथा अवसर सिर्जना र स्थानीय स्रोतसाधनको उपयोगलाई प्रोत्साहन गर्ने महत्वपूर्ण सुरुआतका रूपमा व्याख्या गरेकी छन्। उनले किसान, स्थानीय हस्तकलाकर्मी, महिला उद्यमी र विश्व फेसन बजारबीच सम्बन्ध स्थापित गर्दै स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने दीर्घकालीन दृष्टिकोण रहेको बताइन्।

‘भेडापालनदेखि ऊनसम्म, ऊनदेखि फेसनसम्म र फेसनदेखि जलवायु सचेतनासम्म’ भन्ने अवधारणालाई आत्मसात् गर्दै आयोजना गरिएको यस कार्यक्रमले स्थानीय उत्पादन, परम्परागत सीप र दिगो फेसनलाई जलवायु सचेतनासँग जोड्ने प्रयास गरेको उनको भनाइ छ।

