२०८३ मंसिर ४ • शुक्रबार

गङ्गपूर्णा हिमालमा बेपत्ता दुई जापानी आरोहीको शव काठमाडौं ल्याइयो

Text size

काठमाडौं ।मनाङस्थित गङ्गपूर्णा वेस्ट (लाचेनल) हिमालमा बेपत्ता भएका दुई जापानी आरोहीको शव काठमाडौं ल्याइएको छ। उनीहरू हिदेसुके तानेइसी (Hidesuke Taneishi) र तेत्सु हाशिमोतो (Tetsu Hashimoto) हुन्।

कोस्मो एड्भेन्चर प्रालिका अनुसार अक्टोबर १५ तारिखपछि उनीहरू सम्पर्कविहीन भएको थियोे। उनीहरू हिमपहिरोमा परेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, उनीहरूले हिमालको शिखर आरोहण गरेका थिए वा थिएनन् भन्ने विषयमा अहिलेसम्म पुष्टि हुन सकेको छैन् ।

खोज तथा उद्धारमा संलग्न टोलीले शुक्रबार बिहान करिब ६ हजार २१० मिटरको उचाइमा दुबै आरोहीको शव फेला पारेको हो। कम्पनीका अनुसार शव Altitude Air हेलिकोप्टरमार्फत काठमाडौं ल्याइसकिएको छ र त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। आरोहीका परिवारलाई घटनाबारे जानकारी गराइसकिएको छ।आवश्यक प्रक्रिया पूरा गरी परिवारका सदस्य काठमाडौं आएपछि शव हस्तान्तरण गरिने कम्पनीले जनाएको छ।

सात हजार १४० मिटर अग्लो गङ्गपूर्णा वेस्ट (लाचेनल) हिमाल आरोहणका लागि उनीहरू अक्टोबर १० तारिखमा प्रस्थान गरेका थिए। दुबै आरोहीले सहयोगी टोली बिना अल्पाइन शैलीमा आरोहण गर्ने प्रयास गरेका थिए।

उनीहरूको खोजीका लागि वरिष्ठ हेलिकोप्टर पाइलट सोबित गौचन, ड्रोन पाइलट मनीष महर्जन र IFMGA/NNMGA माउन्टेन गाइड पासाङ रिन्जी शेर्पा (Pasang Rinzee Sherpa) सहितको तीन सदस्यीय टोली खटिएको थियो। टोलीले चार दिनसम्म हेलिकोप्टर र ड्रोनको सहायताले हिमालका विभिन्न भागमा खोजी गरेको थियो।

कम्पनीका अनुसार खोजीका क्रममा सुरुमा हेलिकोप्टरमार्फत मनाङ क्षेत्रमा खोजी गरिए पनि आरोहीहरू फेला परेका थिएनन्। त्यसपछि पनि खोजी कार्य जारी राखिएको थियो। शुक्रबार बिहान मौसम केही सफा भएपछि टोलीले पुनः खोजी गरेको थियो। सोही क्रममा दुबै आरोहीको शव फेला परेपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो।

पर्यटन विभागका अनुसार गङ्गपूर्णा वेस्ट (लाचेनल) हिमाल आरोहणका लागि यस सिजनमा छ जना आरोहीले अनुमति लिएका थिए। ती मध्ये पाँच जना पुरुष र एक जना महिला छन्। आरोहण अनुमति शुल्कबापत सरकारले दुई हजार ४०० अमेरिकी डलर राजस्व सङ्कलन गरेको विभागले जनाएको छ।

तस्बिर: पासाङ रिन्जी शेर्पा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर