
काठमाडौं । सोलुदुधकुण्ड नगरपालिका–२, फेरा गाउँको शिरमा अवस्थित ‘ञिङमा साङ्ङाग क्षोलिङ्ग’ गोन्पाको जीर्णोद्धार पश्चात् बौद्ध धर्म परम्परा अनुसार परम श्रद्धेय खेन् रिन्पोछे साङ्ये राङज्युङज्यूको बाहुलीबाट विधिवत् रूपमा प्राण प्रतिष्ठा (राब्ने) पूजा सम्पन्न भएको छ ।
२०७२ सालको महाविनाशकारी भूकम्पले गोन्पामा गम्भीर क्षति पुर्याएपछि भवन जीर्ण बनेको थियो । भूकम्पपछि केम्जे क्लब फेराको पहल तथा देश-विदेशमा रहेका फेराबासीहरूको आर्थिक सहयोगमा गोन्पा व्यवस्थापन समितिले यसको सफल जीर्णोद्धार गरेको हो । खेन् रिन्पोछेका साथै टुल्कु, खेन्पो, लोपोन र लामा गुरुहरूको उपस्थितिमा बिहान ८ देखि दिउँसो १ बजेसम्म बौद्ध परम्परा अनुसार पाठपूजा गरी प्राण प्रतिष्ठा कार्यक्रम गराइएको थियो ।
वि.सं. २०१० सालमा परम पूज्य लामा दानुको अध्यक्षतामा गाउँलेहरूको जनश्रमदानबाट निर्मित यो गोन्पा स्थापनाकालदेखि नै बौद्ध शिक्षा, साधना र दैनिक पूजापाठको प्रमुख केन्द्र रहँदै आएको छ । प्रमुख लामा काठमाडौँ बसाइँ सरेपछि हाल गोन्पा व्यवस्थापन समितिले नै यसको रेखदेख गर्दै आएको छ । यस गोन्पामा वार्षिक ‘ञ्युन्य’ (उपवास) पूजाका साथै दशैँको समयमा हुने बलि प्रथालाई निरुत्साहित गर्न विशेष पूजा आयोजना गर्ने परम्परा छ ।
धार्मिक पूजापाठ सम्पन्न भएपश्चात् स्थानीय गाउँलेहरूले परम्परागत शेर्पा नृत्य ‘श्याब्रु’ नृत्य प्रस्तुत गरी कार्यक्रमलाई भव्य बनाएका थिए । पुन:निर्माणपछि गोन्पालाई निकट भविष्यमै अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्दै लैजाने व्यवस्थापन समितिले जनाएको छ ।


