
काठमाडौं । शरद ऋतु २०२६ का लागि ६ हजार ८१४ मिटर अग्लो अमाडब्लम हिमालको शिखरसम्म आरोहण मार्ग निर्माण तथा डोरी टाँग्ने काम सम्पन्न भएको छ।
पर्वतारोहण संचालक संघ नेपालका अनुसार आरोहण मार्ग निर्माण तथा डोरी टाँग्ने कार्यमा खटिएको टोलीले मंगलबार (असोज २७ गते) बिहान ११:४० बजे अमाडब्लम हिमालको शिखरमा सफलतापूर्वक पुगेर उक्त कार्य सम्पन्न गरेको हो।
टोलीले शिखरसम्म सुरक्षित आरोहण मार्ग निर्माण गरी डोरी टाँग्नुका साथै नेपाल सरकार, पर्यटन विभाग र पर्वतारोहण सञ्चालक संघ नेपालको लोगो अङ्कित झण्डासमेत शिखरमा फहराएको संघका महासचिव ऋषिराम भण्डारीले जानकारी दिए ।
आरोहण मार्ग निर्माण तथा डोरी टाँग्ने टोलीको नेतृत्व नुरु वाङ्गचु शेर्पाले गरेका थिए। टोलीमा सिद्धि बहादुर तामाङ, लाल कुमार तामाङ, ङवाङ पाल्जोर शेर्पा, लाक्पा साङ्गे शेर्पा, पासाङ तेन्जी शेर्पा र नाम्गेल दोर्जे तामाङ सहभागी थिए।
अनुभवी आरोहीहरूको संयुक्त प्रयास, दक्षता, साहस, समर्पण र आपसी सहकार्यका कारण निर्धारित समयमै काम सम्पन्न गर्न सफल भएको संघले जनाएको छ।
आरोहण मार्ग निर्माण तथा डोरी टाँग्ने कार्य सम्पन्न भएसँगै यस शरद ऋतुमा अमाडब्लम हिमाल आरोहण गर्ने स्वदेशी तथा विदेशी पर्वतारोहीलाई सुरक्षित र व्यवस्थित रूपमा शिखरतर्फ अघि बढ्न सहयोग पुग्ने अपेक्षा संघले गरेकाे छ।
संघका महासचिव ऋषिराम भण्डारीका अनुसार अमाडब्लम हिमालको शिखरसम्म आरोहण मार्ग निर्माण तथा डोरी टाँग्ने कार्यले शरद ऋतु २०८३ मा आमा दब्लम हिमाल आरोहण गर्ने स्वदेशी तथा विदेशी पर्वतारोहीहरूलाई सुरक्षित एवं व्यवस्थित आरोहणका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

