
काठमाडौं । खाङ्ग्री एक्सपिरियन्स फाउन्डेसनले विपद् प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख ८२ हजार ८५० रुपैयाँ सहयोग गरेको छ।
फाउन्डेसनका संस्थापक तथा अध्यक्ष तथा प्रख्यात पर्वतारोही, पर्वतीय पथप्रदर्शक लाक्पा रिता शेर्पा र उनकी श्रीमती फुर डिकी शेर्पाले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
नेपालका विभिन्न क्षेत्रमा विपद्का कारण प्रभावित भएका नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको फाउन्डेसनले जनाएको छ।
लाक्पा रिता शेर्पा नेपालको पर्वतारोहण क्षेत्रमा परिचित नाम हुन्। उनले सगरमाथाको सफल आरोहण १७ पटक गरिसकेका छन्। उनी सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने ‘सेभेन समिट्स’ चुनौती पूरा गर्ने पहिलो नेपाली आरोहीका रूपमा पनि परिचित छन्।
सन् १९८४ मा माध्यमिक शिक्षा पूरा गरेपछि उनले पर्वतारोहण क्षेत्रमा आफ्नो यात्रा सुरु गरेका थिए। पारिवारिक जिम्मेवारी र हिमाल आरोहणप्रतिको गहिरो रुचिले उनलाई यस क्षेत्रमा अघि बढ्न प्रेरित गरेको थियो।
उनका बुबा पनि पर्वतीय पथप्रदर्शक थिए। तर, हिमालमा काम गर्ने क्रममा अत्यधिक चिसोका कारण हात र खुट्टाका केही औँला गुमाएपछि उनले उक्त पेसा छाड्नुपरेको थियो। दस सन्तानमध्ये जेठा छोरा रहेका लाक्पा रिताले त्यसपछि परिवारको आर्थिक जिम्मेवारी सम्हाल्न हिमालमा काम गर्न थालेका थिए।

