
काठमाडौं । नेपालको हिमाली सम्पदा, साहसिक पर्यटन, कला, संस्कृति र परम्परालाई अस्ट्रेलियाली समुदायमाझ प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नेपाल फेस्टिभल सिड्नी २०२६’ आयोजना हुने भएको छ।
मार्क्यु होम्स (Markq Homes) को प्रस्तुतिमा आगामी नोभेम्बर ७, २०२६ मा अस्ट्रेलियाको सिड्नीस्थित डार्लिङ हार्बरको टुम्बालङ पार्कमा महोत्सव आयोजना हुन लागेको आयोजक एनआरएनए अस्ट्रेलिया एससीसी एनएसडब्ल्यू (NRNA Australia SCC NSW) ले जनाएको छ।
आयोजकका अनुसार महोत्सवले अस्ट्रेलियामा रहेका नेपाली परिवार, साथीभाइ तथा अस्ट्रेलियाली समुदायलाई एकै ठाउँमा ल्याएर नेपालको विविध संस्कृति, परम्परा, पर्यटन र राष्ट्रिय पहिचानको उत्सव मनाउने अवसर प्रदान गर्नेछ।
महोत्सवले नेपाल र अस्ट्रेलियाबीचको सांस्कृतिक सम्बन्ध थप सुदृढ गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धन, हिमाली सम्पदाको पहिचान र नेपाली समुदायका उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
नेपाल फेस्टिभल सिड्नी २०२६ लाई आरजे ब्राउन रियल इस्टेट, एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेस तथा फिनकनेक्स फाइनान्सियल सर्भिसेसले सहयोग गरेका छन्। एएसए इन्स्टिच्युट अफ हायर एजुकेसन शैक्षिक साझेदार रहेको महोत्सवलाई नेपाल तथा अस्ट्रेलियामा सञ्चालित आरबी डायमन्ड ज्वेलर्सले आर्थिक सहयोग गरेको छ।

