२०८३ आश्विन २० • मंगलबार

विश्व शेर्पा संघको तेस्रो महाधिवेशन हुँदै, २५ देशका प्रतिनिधि सहभागी हुने

Text size

काठमाडौं । विश्व शेर्पा संघको तेस्रो महाधिवेशन तथा तेस्रो विश्व शेर्पा सम्मेलन अक्टोबर ८ देखि १० तारिखसम्म भारतको दार्जिलिङ र कालिम्पोङमा हुने भएको छ। महाधिवेशनमा विश्वका करिब २५ देशका शेर्पा प्रतिनिधि तथा सहभागी प्रत्यक्ष र भर्चुअल माध्यमबाट सहभागी हुने भएका छन्।

विश्व शेर्पा संघका महासचिव आङ जाङबु शेर्पाका अनुसार संघले स्थापना कालदेखि नै विश्वभर छरिएर रहेका शेर्पा समुदायलाई एकताबद्ध गर्दै भाषा, धर्म, संस्कृति, परम्परा, पहिचान र सामाजिक एकताको संरक्षण तथा प्रवर्द्धनमा काम गर्दै आएको छ।

उनका अनुसार संघको तेस्रो महाधिवेशनसम्म आइपुग्दा विश्वका विभिन्न २४ देशमा रहेका शेर्पा किदुग तथा शेर्पा संघहरू विश्व शेर्पा संघसँग आबद्ध भइसकेका छन्। विश्वभरका शेर्पा संघ तथा किदुगबीच आपसी एकता, सहकार्य, समन्वय र साझा उद्देश्यका लागि हातेमालो गर्दै अघि बढ्नु संघको प्रमुख उद्देश्य रहेको उनले बताए।

‘शेर्पा सम्पदा’ पुस्तक प्रकाशन हुँदै

विश्व शेर्पा संघले शेर्पा समुदायको मौलिक इतिहास, संस्कृति, परम्परा र सामाजिक जीवनसँग सम्बन्धित महत्वपूर्ण सामग्रीलाई अभिलेखीकरण गर्ने उद्देश्यले ‘शेर्पा सम्पदा (Heritage of Sherpa)’ नामक पुस्तक प्रकाशन गर्न लागेको छ।

उक्त पुस्तकमा शेर्पाहरूको ‘रु’ थरसम्बन्धी इतिहास तथा दस्तावेज, जन्म, विवाह र मृत्यु संस्कार, प्रमुख चाडपर्व तथा पूजापाठ, परम्परागत खानपान, भेषभूषा तथा गहना, नाता–साइनो, साङ सेर्किम तथा विभिन्न शुभकार्य र धार्मिक संस्कारलगायत शेर्पा समुदायको मौलिक जीवनपद्धतिसँग सम्बन्धित विषयहरू समेटिएका छन्।

विश्व शेर्पा संघका अनुसार पुस्तकले शेर्पा समुदायको मौलिक सम्पदा, परम्परा र सांस्कृतिक विविधतालाई अभिलेखका रूपमा संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। पुस्तक प्रकाशनपछि शेर्पा समुदायका विभिन्न सांस्कृतिक तथा परम्परागत विषयबारे थप अध्ययन, बुझाइ र संवादको वातावरण बन्ने अपेक्षा संघले गरेको छ।

तीन दिनसम्म विभिन्न कार्यक्रम

तेस्रो विश्व शेर्पा सम्मेलनअन्तर्गत अक्टोबर ८ तारिखमा दार्जिलिङको चौरस्तामा उद्घाटन समारोह आयोजना हुनेछ। सोही अवसरमा शेर्पा रत्न तथा शेर्पा तारा सम्मान प्रदान गरिनुका साथै ‘शेर्पा सम्पदा’ पुस्तक विमोचन गरिनेछ।

अक्टोबर ९ मा दार्जिलिङको सोनदामा ‘The Sherpas of Eastern Himalayas’ International Conference’ आयोजना हुनेछ। सम्मेलनमा शेर्पा समुदाय, हिमाली क्षेत्र तथा पूर्वी हिमालयसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयमा छलफल तथा अन्तरक्रिया गरिनेछ।

त्यसैगरी, अक्टोबर १० मा कालिम्पोङको लाभामा बन्द सत्र, नयाँ कार्यसमिति चयन तथा समापन समारोह आयोजना हुने संघले जनाएको छ।

महाधिवेशन तथा सम्मेलनमा शेर्पा समुदायको भाषा, धर्म, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनसँगै विश्वभरका शेर्पा समुदायबीच एकता र सहकार्य अभिवृद्धिका विषयमा छलफल हुने शेर्पाले जानकारी दिए।

त्यसैगरी, विश्व ग्लोबल वार्मिङका कारण हिमाली क्षेत्रमा रहेका शेर्पा बस्ती तथा समुदायले भोगिरहेका प्रभाव र जोखिमका विषयलाई पनि प्राथमिकताका साथ उठाइनेछ।

हिमाल आरोहण तथा पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत शेर्पाहरूको सुरक्षा, सामाजिक सुरक्षा तथा अवकाशपछिको पेन्सन सुविधाको सुनिश्चितताका विषयमा समेत सम्मेलनमा गम्भीर छलफल हुने संघले जनाएको छ।

विश्व शेर्पा संघले तेस्रो महाधिवेशन तथा विश्व शेर्पा सम्मेलनले विश्वभरका शेर्पा समुदायबीचको एकता, सहकार्य र समन्वयलाई थप सुदृढ गर्दै शेर्पा भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा भावी पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर