
काठमाडौं । रसुवागढी, स्याफ्रुबेसी र टिमुरे क्षेत्रका ८२१ जना बाढीपीडितलाई राहतस्वरूप न्यानो तथा आवश्यक कपडा वितरण गरिएको छ।
‘रसुवागढी बाढीपीडित कपडा वितरण परियोजना–२०२६’ अन्तर्गत असोज १७ गते काठमाडौंका मुस्ताङ गुम्बा, स्वयम्भू र यल्लो गुम्बा, स्वयम्भू होल्डिङ सेन्टरमा आयोजित कार्यक्रममा बाढीपीडितलाई राहत सामग्री वितरण गरिएको हो।

मकालु आउटफिटका प्रबन्धक निमा सङ्गे शेर्पाका अनुसार रसुवागढी, स्याफ्रुबेसी र टिमुरे गाउँका ३९२ पुरुष, २३५ महिला र १९४ बालबालिका गरी ८२१ जनालाई राहत सामग्री वितरण गरिएको हो।

हालै आएको विनाशकारी बाढी तथा पहिरोका कारण रसुवाका विभिन्न क्षेत्रमा जनधनको क्षति भएपछि प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले परियोजना सञ्चालन गरिएको शेर्पाले बताए।

उनका अनुसार बाढी प्रभावित प्रतिव्यक्ति करिब रु. २० हजार बराबरको तथा बालबालिकालाई रु. ५,५०० बराबरको गुणस्तरीय न्यानो तथा आवश्यक कपडा उपलब्ध गराइएको छ।
प्राकृतिक विपद्का कारण घरबार तथा आधारभूत आवश्यकता गुमाएर कठिन अवस्थामा रहेका स्थानीय बासिन्दालाई राहत पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको शेर्पाले बताए।
राहत वितरण परियोजनाका लागि Associazione Mani Per il Nepal-CH बाट आर्थिक सहयोग प्राप्त भएको हो। Makalu Outfit को सहकार्यमा सञ्चालित परियोजनाको सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी Ticino Treks & Expedition Pvt. Ltd. ले सम्हालेको थियो।

शेर्पाका अनुसार राहत वितरण कार्य स्थानीय प्रशासन, जनप्रतिनिधि तथा स्थानीय समुदायसँगको समन्वयमा पारदर्शी रूपमा सम्पन्न गरिएको हो। बाढीपीडित परिवारलाई दैनिक जीवनयापनमा सहजता प्रदान गर्नुका साथै आगामी मौसमको प्रतिकूलताबाट जोगिन सहयोग पुगोस् भन्ने उद्देश्यले राहत सामग्री वितरण गरिएको उनले बताए।
“यस दुःखद् परिस्थितिमा प्रभावित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हामी गहिरो सहानुभूति प्रकट गर्दछौं। आगामी दिनमा पनि समाजका आवश्यक क्षेत्रमा यस्ता मानवीय सहयोगका कार्यलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौं,” शेर्पाले भने।

