२०८३ आश्विन २० • मंगलबार

गुन्द्रुक राष्ट्रिय कार्यशाला सम्पन्न

Text size

काठमाडौं । आरोग्य वर्ष २०२७ लाई लक्षित गर्दै होटल संघ नेपालले बिहीबार काठमाडौंमा ‘गुन्द्रुक राष्ट्रिय कार्यशाला’ आयोजना गरेको छ। होटल संघ नेपालको आयोजनामा सम्पन्न कार्यशालामा नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानको सहकार्य तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्राविधिक सहयोग रहेको थियो।

कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले स्वागत मन्तव्य व्यक्त गर्दै गुन्द्रुक नेपाली मौलिक तथा रैथाने खाद्य परिकारका रूपमा रहेको उल्लेख गर्दै यसको प्रवद्र्धन, व्यावसायिक उपयोग तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष शाहले गुन्द्रुकको पहिचान, बजारीकरण, खाद्य सुरक्षा, भण्डारण तथा अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्ने र गुन्द्रुकलाई राष्ट्रिय दिवसका रूपमा मनाउनुपर्ने धारणा व्यक्त गरे।

कार्यशालामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ अनुसन्धान अधिकृत भीम पुलामीले गुन्द्रुकको उत्पादन, गुणस्तर, पोषण तथा खाद्य सुरक्षालगायतका विषय समेटिएको कार्यपत्र प्रस्तुत गरे।

प्रस्तुत कार्यपत्रमाथि लेखक तथा खाद्य विश्लेषक शारदा ज्ञवाली, वरिष्ठ सेफ गोविन्द नरसिंह केसी तथा कन्सल्टिङ सेफ श्यामबहादुर तामाङले टिप्पणी गरे।

कार्यपत्र प्रस्तुति तथा टिप्पणीपछि भएको छलफलमा सहभागीहरूले गुन्द्रुकको उत्पादन, प्रशोधन, गुणस्तर, संरक्षण, व्यावसायिक प्रयोग तथा होटल तथा पर्यटन क्षेत्रमा यसको प्रवद्र्धनका विषयमा विभिन्न सुझाव तथा जिज्ञासा राखेका थिए।

छलफलमा उठेका प्रश्नहरूको जवाफ वरिष्ठ अनुसन्धान अधिकृत भीम पुलामी र कन्सल्टिङ सेफ श्यामबहादुर तामाङले दिएका थिए।

कार्यक्रममा होटल क्षेत्रको प्रतिनिधित्व गर्दै रोयल ट्युलिप काठमाडौंका केदार पाण्डेले गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला महत्वपूर्ण रहेको उल्लेख गर्दै होटलहरूले गुन्द्रुकलाई आफ्ना परिकार तथा मेनुमा समावेश गरी यसको प्रवर्द्धनमा योगदान पुर्‍याउने बताए ।

नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्राचार्य दिव्यराज पोखरेलले गुन्द्रुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न शैक्षिक तथा व्यावसायिक पाठ्यक्रममा समेत यस विषयलाई समेट्न सकिने बताए ।

कार्यक्रमका प्रमुख अतिथि पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले होटलहरूको मेनुमा नेपाली रैथाने तथा मौलिक खानाका परिकार समावेश गर्नुपर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै गुन्द्रुकलाई समेत होटल तथा पर्यटन क्षेत्रको मेनुमा समावेश गर्न जोड दिए। उनले नेपाली मौलिक खानाको प्रवद्र्धनमार्फत नेपालको पर्यटन अनुभवलाई थप समृद्ध बनाउन सकिने बताए।

टीभेट काउन्सिल सदस्य तथा साना तथा घरेलु उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवाल, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपालका अध्यक्ष संघर्ष बिष्ट तथा पाटा नेपाल च्याप्टरका अध्यक्ष नरेन्द्र भट्टले मौलिक खाना गुन्द्रुकको महत्वका बारेमा चर्चा गरे।

कार्यक्रमको समापन गर्दै होटल संघ नेपालका महासचिव साजन शाक्यले कार्यशालामा उठेका महत्वपूर्ण विषय तथा सुझावहरूलाई लिपिबद्ध गरी आगामी दिनमा कार्यान्वयनको दिशामा अगाडि बढाइने बताए। उनले गुन्द्रुकको उत्पादन, गुणस्तर, व्यावसायिक प्रयोग तथा पर्यटन र आतिथ्य क्षेत्रमा यसको प्रवर्द्धनलगायतका विषयमा सम्बन्धित सरोकारवालासँग निरन्तर छलफल र सहकार्य गरिने जानकारी दिए।

होटल संघ नेपालले आरोग्य वर्ष २०२७ लाई लक्षित गर्दै नेपाली रैथाने तथा मौलिक खाद्य परिकारको प्रवर्द्धन, स्वस्थ खानपानको संस्कृति विकास तथा नेपाली खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर