
काठमाडौं । हिमालय एअरलाइन्स (IATA: H9) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं र सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल, सांघाईबीच सोमबार, सेप्टेम्बर २८ देखि नियमित सिधा उडान सेवा पुनः सुरु गरेको छ।
हिमालय एअरलाइन्सको उडान नम्बर H9 781 सेप्टेम्बर २८ मा साँझ ७ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट सांघाईका लागि प्रस्थान गरेको थियो। उक्त उडान सेप्टेम्बर २९ मा चिनियाँ समयअनुसार बिहान २ः३६ बजे सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
त्यसैगरी, सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि सेप्टेम्बर २९ मा चिनियाँ समयअनुसार बिहान ४ः३६ बजे प्रस्थान गरेको उडान सोही दिन नेपाली समयअनुसार बिहान ८ः१३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हिमालय एअरलाइन्सले जनाएको छ।
उडान सेवा पुनः सुरु भएसँगै हिमालय एअरलाइन्स काठमाडौँ–सांघाई–काठमाडौँ मार्गमा नियमित सिधा उडान सञ्चालन गर्ने एकमात्र वायुसेवा कम्पनी बनेको छ। यससँगै नेपाल र चीनको प्रमुख विश्वव्यापी महानगरमध्ये एक सांघाईबीचको रणनीतिक रूपमा महत्वपूर्ण हवाई सम्पर्क पुनःस्थापित भएको छ।
हिमालय एअरलाइन्सले प्रारम्भिक चरणमा यस रुटमा साप्ताहिक दुईवटा उडान सञ्चालन गर्नेछ।
काठमाडौंबाट सांघाईतर्फका उडानहरू हरेक सोमबार र शुक्रबार हुनेछन् भने सांघाईबाट काठमाडौँ फर्कने उडानहरू हरेक मंगलबार र शनिबार सञ्चालन हुनेछन्। यात्रुको माग तथा उडानको यात्रु भारका आधारमा आगामी दिनमा उडान संख्या थप गर्ने एअरलाइन्सले जनाएको छ।
काठमाडौँ–सांघाई–काठमाडौं उडानले यात्रुहरूलाई नेपालको राजधानी काठमाडौँ र चीनको सबैभन्दा ठूलो शहर तथा प्रमुख विश्वव्यापी वित्तीय केन्द्र सांघाईबीच सहज र सिधा हवाई यात्रा सुविधा प्रदान गर्नेछ।
यस रुटको पुनः सञ्चालनले यात्रुलाई सुविधाजनक, सुरक्षित र प्रभावकारी हवाई सेवा प्रदान गर्ने हिमालय एअरलाइन्सको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। साथै, यसले नेपाल–चीन द्विपक्षीय सम्बन्ध तथा दुई देशका जनताबीचको सम्पर्क र आदानप्रदानलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नेपालको मुख्य पर्यटन सिजनको सुरुवातसँगै यो हवाई सेवा पुनः सञ्चालन हुनुले यस रुटको रणनीतिक महत्वलाई थप बढाउने एअरलाइन्सको विश्वास छ। यस रुटले चीनबाट नेपाल आउने पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि ल्याउनुका साथै समग्र आतिथ्य तथा पर्यटन क्षेत्रमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, यसले नेपालको आर्थिक पुनरुत्थान तथा आर्थिक वृद्धिका लक्ष्यमा समेत सहयोग पुर्याउने विश्वास गरिएको छ।
हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौँ–सांघाई–काठमाडौँ रुटमा नियमित उडान पुनः सञ्चालन गरिएको जानकारी दिए।
उनले भने, “हिमालय एअरलाइन्स् नेपाल र चीनबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्कलाई मजबुत बनाउन तत्पर छ। हामीले सधैं चीनमा नयाँ–नयाँ गन्तव्य खोज्दै नियमित उडान सञ्चालनलाई अगाडि बढाउँदै आएका छौँ। काठमाडौं–सांघाई–काठमाडौं रुटमा पुनः सुरु भएको यस उडानले दुई देशका नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउनुका साथै पर्यटन र व्यापार प्रवर्द्धन गर्ने हाम्रो उद्देश्यलाई थप प्रोत्साहन गर्नेछ। यस रुटमार्फत हिमालय एअरलाइन्सले यात्रुलाई अविस्मरणीय यात्रा अनुभव प्रदान गर्नुका साथै सुरक्षा र सेवाको उच्चतम मापदण्ड कायम राख्ने लक्ष्य लिएको छ।”
हिमालय एअरलाइन्ससँग यात्रा गर्न चाहने यात्रुहरूले एअरलाइन्सका टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनर तथा एअरलाइन्स्को आधिकारिक वेबसाइटमार्फत काठमाडौं–सांघाई–काठमाडौं उडानको टिकट बुक गर्न सक्नेछन्।

