
काठमाडौं । ४७औँ विश्व पर्यटन दिवसको अवसरमा ‘नेपाल कलिङ’ भन्ने नारासहित नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आयोजना गरेको नाट्टा हेरिटेज रन २०२६ उत्साहपूर्ण सहभागिताका साथ सम्पन्न भएको छ।
नाट्टा अध्यक्ष भरतजंग पाण्डेको नेतृत्वमा आयोजित हेरिटेज रनले पर्यटन, स्वास्थ्य, सम्पदा संरक्षण र सामुदायिक सहभागितालाई जोड्दै काठमाडौं उपत्यकाका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई पर्यटन गतिविधिसँग जोड्ने सन्देश दिएको छ।
नाट्टाको सम्पूर्ण कार्यसमितिको सहयोग तथा सहकार्यमा आयोजना गरिएको कार्यक्रमको संयोजन कार्यसमिति सदस्य नवीन गुरुङले गरेका थिए। कार्यक्रमको समग्र व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी नाट्टाका महासचिव राजकुमार देवकोटाले सम्हालेका थिए।
६ किलोमिटर लामो दौड काठमाडौं दरबार स्क्वायरबाट सुरु भई रत्नपार्क, सहिदगेट, दशरथ रंगशाला, चापाथली, साझा पेट्रोल पम्प र लबिम मल हुँदै पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो।
काठमाडौं र ललितपुरका महत्वपूर्ण ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्रलाई एउटै दौडमार्फत जोडिएको यस कार्यक्रमले सहभागीलाई सम्पदासँग प्रत्यक्ष रूपमा जोडिँदै पर्यटनको अनुभव गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली एथलेटिक्सका वरिष्ठ धावक वैकुण्ठ मानन्धरले सहभागी धावक–धाविकालाई शुभकामना दिँदै प्रतियोगिताको सफलताको कामना गरेका थिए। वर्षाका बाबजुद पनि सहभागीको उत्साहमा कमी देखिएन। पर्यटन व्यवसायी, युवा, विभिन्न संघसंस्था, नाट्टा परिवार तथा सर्वसाधारणको उल्लेख्य सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।
प्रतियोगिताका विजेता (पुरुषतर्फ)
प्रथम: रविन्द्र रावत
द्वितीय: सलमान शेख
तृतीय: शेरबहादुर शाही
महिलातर्फ
प्रथम: सुजिना रामदाम
द्वितीय: सुमित्रा तामाङ
तृतीय: संग्रिला श्रेष्ठ

नाट्टाका महासचिव राजकुमार देवकोटाका अनुसार कार्यक्रमको समापन तथा पाटनतर्फको आतिथ्य व्यवस्थापनमा पाटन पर्यटन विकास संगठनका अध्यक्ष कृष्णलाल महर्जनसहित सम्पूर्ण टोलीले महत्वपूर्ण सहयोग गरेको थियो।
पाटन दरबार स्क्वायरमा कार्यक्रमको समापनलाई व्यवस्थित र स्मरणीय बनाउन आतिथ्यता, सहयोग तथा सहकार्य गरेकोमा नाट्टाले कृष्णलाल महर्जन तथा पाटन पर्यटन विकास संगठनप्रति आभार व्यक्त गरेको छ।
त्यस्तै, मेडिकल पार्टनरका रूपमा सहयोग तथा सहकार्य गरेकोमा फ्रन्टलाइन अस्पताललाई पनि नाट्टाले धन्यवाद दिएको छ।

नाट्टाका अनुसार हेरिटेज रन केवल दौड प्रतियोगितामा सीमित नरही स्वास्थ्य, पर्यटन, सम्पदा संरक्षण, सामुदायिक सहभागिता र एकताको साझा उत्सवका रूपमा सम्पन्न भएको हो। काठमाडौं दरबार स्क्वायरदेखि पाटन दरबार स्क्वायरसम्मको यस दौडले काठमाडौं उपत्यकाका दुई महत्वपूर्ण ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्रलाई पर्यटन गतिविधिमार्फत जोड्ने काम गरेको छ।

