
काठमाडौं । हिमलुङ हिमालको आधार शिविरमा आइतबार बिहान हिमपहिरोमा परी १० जना सम्पर्कविहीन भएका छन्। हिमपहिरोमा परी उनीहरू सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी प्राप्त भएको हो।
हिमालयन होलिडेज नेपाल प्रालिका अनुसारहिमलुङ हिमालका एक्सपेडिसन लिडर काजी शेर्पाले आधार शिविरमा हिमपहिरो गएको जानकारी गराएका थिए। कम्पनीका अनुसार शेर्पासँग भएको सम्पर्कका क्रममा ‘सबै जना पुरिएका छन्, छिटो उद्धार टोली पठाइदिनु’ भन्ने सन्देश प्राप्त भएको थियो। त्यसपछि आधार शिविरसँग सम्पर्क हुन नसकेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उद्धारका लागि आफ्नै टोलीसँगै इमाजिन नेपाल प्रालिको उद्धार टोलीलाई पनि तयारी अवस्थामा राखिएको छ। आवश्यक अनुमति लिएर दुईवटा हेलिकोप्टरसमेत विमानस्थलमा तयारी अवस्थामा राखिएको कम्पनीले जनाएको छ। तर, खराब मौसमका कारण हेलिकोप्टर घटनास्थलतर्फ उड्न सकेका छैनन्।
पर्वतारोहण संचालक संघ नेपाल (EOA-Nepal) का महासचिव ऋषिराम भण्डारीका अनुसार हिमपहिरोपछि हिमलुङ हिमालको आधार शिविरमा रहेका कम्तीमा १० जना सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी संघले प्राप्त गरेको छ।
“तर, यो सूचना अहिलेसम्म आधिकारिक रूपमा पुष्टि भएको छैन। हामी सम्बन्धित निकायबाट आधिकारिक जानकारी र थप विवरणको प्रतीक्षामा छौँ,” भण्डारीले भने।
उनका अनुसार हिमलुङ हिमालमा डोरी टाँग्ने (रोप फिक्सिङ) टोली भने सुरक्षित रूपमा कोतो पुगेको छ।
Photo By : Rishi Ram Bhandari, Satori Adventure Pvt Ltd

