२०८३ आश्विन २० • मंगलबार

विश्व पर्यटन दिवसमा नाट्टाको ‘नेपाल कलिङ’ र ‘नेपाल ओपन’ अभियान

Text size

काठमाडौं । ४७औँ विश्व पर्यटन दिवस २०२६ को अवसरमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले ‘नेपाल कलिङ’ र ‘नेपाल ओपन’ अभियानलाई प्रवर्द्धन गर्दै दुईदिने विशेष कार्यक्रम आयोजना गरेको छ।

सेप्टेम्बर २६ र २७ मा आयोजना हुने कार्यक्रममार्फत नेपाल सुरक्षित, पर्यटनका लागि खुला र सञ्चालनयोग्य गन्तव्य रहेको सकारात्मक सन्देश विश्वभर प्रवाह गर्ने उद्देश्य राखिएको नाट्टाले जनाएको छ।

नाट्टाका महासचिव राजकुमार देवकोटाका अनुसार कार्यक्रमको पहिलो दिन शनिबार बिहान ७:३० बजे ‘नाट्टा क्लिन एन्ड ग्रिन क्याम्पेन २०२६’ सञ्चालन गरिएको थियो। शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज करिडोरअन्तर्गत बूढानीलकण्ठ–टोखा–चण्डेश्वरी क्षेत्रलाई केन्द्रित गरी सरसफाइ अभियान सञ्चालन गरिएको थियो।

अभियानमार्फत पर्यटन गन्तव्य तथा सार्वजनिक स्थलको सरसफाइसँगै वातावरण संरक्षणमा पर्यटन क्षेत्रको जिम्मेवारी र प्रतिबद्धता प्रस्तुत गर्ने नाट्टाले जनाएको छ।

त्यसैगरी, विश्व पर्यटन दिवसको मुख्य दिन सेप्टेम्बर २७, आइतबार ‘नेपाल कलिङ–नाट्टा हेरिटेज रन २०२६’ आयोजना हुनेछ। सांस्कृतिक दौडमार्फत काठमाडौं उपत्यकाका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्दै नेपाललाई जीवन्त, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।

हेरिटेज रन बिहान ६:३० बजे काठमाडौं दरबार क्षेत्र, वसन्तपुरबाट सुरु हुनेछ। करिब ६ किलोमिटर लामो दौड काठमाडौं र ललितपुरका विभिन्न ऐतिहासिक, सांस्कृतिक तथा सम्पदा क्षेत्र हुँदै पाटन दरबार क्षेत्रमा पुगेर सम्पन्न हुने नाट्टाले जनाएको छ।

निर्धारित मार्गअनुसार दौड वसन्तपुरबाट सुरु भई विशाल बजार, न्युरोड गेट, रत्नपार्क, शहीद गेट, दशरथ रंगशाला, थापाथली र साझा पेट्रोल पम्प हुँदै ललितपुरको लविम मलबाट पाटन दरबार क्षेत्रमा पुग्नेछ। दौडमा पर्यटन व्यवसायी, पर्यटनसम्बद्ध विभिन्न संघ–संस्था, युवा तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।

नाट्टाले विश्व पर्यटन दिवसका अवसरमा आयोजना गरिएका यी कार्यक्रमले नेपालको सम्पदा, संस्कृति, वातावरण र पर्यटन व्यवसायबीचको सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

नाट्टाले पर्यटन क्षेत्रका सरोकारवाला, सञ्चारकर्मी, युवा तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी हुँदै ‘नेपाल कलिङ’ को सकारात्मक सन्देश विश्वभर प्रवाह गर्न सहयोग गर्न आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर