२०८३ आश्विन २० • मंगलबार

पर्वतारोहण संघको तालिमका सहभागी र प्रशिक्षकद्वारा दङ्गा पिककाे आरोहण

Text size

काठमाडौं । नेपाल पर्वतारोहण संघको नियमित तालिमअन्तर्गत सञ्चालित पेशागत पर्वतीय पथप्रदर्शकको गृष्मकालीन सीप तालिममा सहभागी २९ जना प्रशिक्षार्थी र ६ जना प्रशिक्षकले कञ्चनजङ्घा क्षेत्रमा रहेको ६,२२० मिटर अग्लो दङ्गा पिकको सफल आरोहण गरेका छन्।

नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा पछिल्लो ५३ वर्षदेखि महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको नेपाल पर्वतराोहण संघले लामो समयदेखि पर्वतारोहण सम्बन्धी विभिन्न तालिमहरु सञ्चालन गर्दै आइरहेको छ ।

पछिल्लो तीन वर्षदेखि भने प्राविधिक शिक्षा एवं व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)द्वारा स्विकृत १६९६ घण्टाको पाठ्यक्रममा आधारित रहेर यो तालीमको सञ्चालन गर्दै आइरहेको छ ।

नेपाल पर्वतराोहण संघका अनुसार उक्त पाठ्यक्रमअन्तर्गतको दोस्रो चरणको यस तालीम ६ हजार मिटर वा त्योभन्दा अग्लो हिमालमा गर्नुपर्ने व्यवस्था छ । त्यसअनुसार दीगो पर्यटन परियोजना (एसटिपी) सँगको साझेदारीमा संघले दङ्गा पिकमा सञ्चालन गरेको यस तालीममा यस पटक एक विदेशीसहित ३३ जना प्रशिक्षार्थीहरु सहभागी रहेकाे संघले जनाएको छ ।

रक क्लाइम्बिङ र अन्य शैधान्तिक कक्षाहरु काठमाडौंमै सम्पन्न गरेर तालीम टोली ‘रियल सिनारियो’मा ग्लेसियर तालीमका लागि दङ्गा पिक पुगेको थियो । दङ्गा पिकमा एक साताभन्दा लामो ग्लेसियर तालीम सम्पन्न गरी तालीमका प्रशिक्षार्थीहरु र प्रशिक्षकहरुको टोलीले दङ्गा पिकको सफल आरोहण गरेको नेपाल पर्वतराेहण संघले जनाएको छ ।

‘काठमाडौं र सम्बन्धित हिमालमा झण्डै ४० दिनसम्म व्यवहारिक र शैधान्तिक शीप सिकाएपछि प्रशिक्षार्थीहरुलाई हिमाल आरोहणमा लाने गरिन्छ । उक्त आरोहणको नेतृत्व पूर्णरुपमा प्रशिक्षार्थीहरुले नै गर्छन् । प्रशिक्षकहरुले उनीहरुको काम र प्रदर्शन गरेको शीपको आवलोकन र मुल्याङ्कन गर्छन् । कुनै गल्ती गरेको अवस्थामा मात्रै प्रशिक्षकहरुले हस्तक्षेप गर्ने गर्छन्’, तालिमका प्रमुख प्रशिक्षक सर्की शेर्पाले भने, ‘तालिम र आरोहणको क्रममा उनीहरुले प्रदर्शन गरेको दक्षता नतिजामा देखिन्छ ।’

संघले हिमाल आरोहणलाई तालिमको महत्वपूर्ण हिस्साको रुपमा लिदै आइरहेको छ । प्रशिक्षार्थीहरुले तालिममा सिकेका शीपलाई प्रयोग गर्दै आरोहणको नेतृत्व गर्ने गर्छन् । यसले प्रशिक्षार्थीहरु निकट भविश्यमा कुनै पनि हिमालमा पेशागत रुपमा पर्वतीय पथ प्रदर्शकको रुपमा काम गर्न सक्षम हुने छन् ।

‘हामीले नेपालको पर्वतीय पर्यटनका लागि दक्ष जनशक्ती उत्पादन गर्ने उद्देश्यले यो तालिमको आयोजना गर्दै आइरहेका छौं । यती धेरै संख्यामा प्रशिक्षार्थीहरुले हिमालको सफल आरोहण गर्नु हाम्रो लागि ठूलो उपलब्धी हो’, संघका केन्द्रीय कार्यसमिति सदस्य समेत रहेका प्रशिक्षक दावा टाशी शेर्पाले भने, ‘उहाँहरुको यो सफलताले नेपालको पर्वतीय पर्यटनमा आवश्यक दक्ष जनशक्तीको पुर्ती हुने र नेपालको पर्वतीय पर्यटन सुरक्षित र भरपर्दाे बन्ने अपेक्षा गर्न सकिन्छ ।’

संघले सञ्चालन गरेको यो तालिम नेपाली युवाहरुको रोजगारीसँग पनि जोडिएको छ । नेपालको हिमालमा काम गर्नका लागि संघले जारी गर्दै आइरहेको कालो वा निलो वा रातो बुक आवश्यक पर्दछ । यस तालीम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीहरुले यसकै आधारमा सिधै निलो बुक प्राप्त गर्छन् । यसबाट उनीहरु एक दक्ष पर्वतीय पथ प्रदर्शकको रुपमा नेपालको कुनै पनि हिमालमा काम गर्न सक्षम हुने छन् ।

‘संघद्धारा सञ्चालित यस तालिम धेरै दृष्टिकोणबाट महत्वपूर्ण छ । त्यसमध्ये प्रत्यक्ष देखिने भनेको सफल हुने सबै प्रशिक्षार्थीहरुको रोजगारीको कुरा र नेपाली पर्वतीय पर्यटन समृद्ध हुने कुरा हो’, अर्का प्रशिक्षक सञ्जिव गुरुङ भन्छन्, ‘त्यसैले यस तालीम कार्यक्रमलाई संघले निरन्तर्ता दिन आवश्यक छ । साथै, यस महत्वपूर्ण कार्यका लागि हामी सबैको सहयोगको पनि आवश्यक्ता रहेको छ ।’

संघका अनुसार सरकारद्धारा मान्यता प्राप्त यस तालिम पाठ्यक्रमले विभिन्न ‘कम्पोनेन्टहरु’ समेटेको छ । आधारभुत शीप तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरुले मात्रै गृष्मकालिन शीप तालीम गर्न पाउँने व्यवस्था छ । यस्तै गृष्मकालिन शीप सम्पन्न गरेकाहरुले हिउँदे शीप तालिममा सहभागीता जनाउन पाउने छन् । त्यसबाहेक लङ्ग लाइन रेस्क्यू, हेली मार्शलिङ, प्राथमिक उपचार लगायत तालीम सम्पन्न गरेपछि उनीहरुले पेशागत पर्वतीय पथ प्रदर्शकको प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर