२०८३ आश्विन २० • मंगलबार

चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता

Text size

काठमाडौं। चितवनको सौराहास्थित लक्जरी रिसोर्ट रोयल टुलिप चितवनले पाँचतारे डिलक्स मान्यता प्राप्त गरेको छ। पर्यटन विभागको स्थलगत निरीक्षणपछि रिसोर्टलाई स्तरीकरण मान्यता प्रदान गरेको हो। रिसोर्ट केटीएम हस्पिटालिटी लिमिटेडद्वारा सञ्चालित छ।

कम्पनीले करिब तीन साताअघि पर्यटन विभागमा स्तरीकरणका लागि निवेदन दिएको थियो। निवेदनपछि विभागका निर्देशकसहितको चार सदस्यीय टोली रिसोर्टको भौतिक पूर्वाधार, सेवा सुविधा, सुरक्षा व्यवस्था, अतिथि सेवा र सञ्चालन प्रणालीको विस्तृत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा तोकिएका मापदण्ड पूरा गरेको पाइएपछि विभागले रिसोर्टलाई पाँचतारे डिलक्सको मान्यता दिएको हो। नेपाल सरकार, पर्यटन विभागद्वारा देश भर रहेका होटलहरु मध्ये हाल सम्म पाँचतारे डिलक्सको मान्यता अन्य तीन होटललाई दिएको छ।

उपलब्ध भएसम्मका स्थानीय निर्माण सामग्रीहरु जस्तै काठ–फर्निचर, ढुंगा टायल र ढुंगाले छाएको छाना, जुटबात निर्मित गलैंचा, स्थानीय आर्टिस्टले काठमा गरेको पेन्टिङ, स्थानीयले बनेको सजावका सामानहरु, मान्द्रो आदिको ब्यापक प्रयोग गरिएको उक्त रिसोर्टमा नेपालीपन झल्काउने थुप्रै कुराहरु समेटिएका छन्।

विभागबाट रिसोर्ट निरीक्षण गर्न पुगेका अधिकारीहरुले रोयल टुलिप चितवनले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै संचालित वातावरणमैत्री यस रिसोर्टले नेपाली आतिथ्यताको नयाँ मानक बनाएको र यसलाई निरन्तता दिने विश्वास समेत व्यक्त गरेकाे हाेटलले जनाएको छ ।

रोयल टुलिपका अनुसार राप्ती नदी समिप जनकौली र कुमरोज सामुदायिक वन नजिकै ४।१२ एकड क्षेत्रफलमा फैलिएको रोयल टुलिप चितवनमा ६५ वटा आधुनिक कोठा छन्। रिसोर्टमा रेस्टुरेन्ट, स्विमिङ पुल, जिम, हेल्थ क्लब र हेलिप्याडलगायत रिभोल्भिंग रेस्टुरेन्ट समेतका सुविधा छन्। त्यसका साथै नेपालमै पहिलोपटक ‘तनावीबार’ सञ्चालन गरिरहेको छ। मध्यरात मनोरञ्जनका लागि छुट्टै ‘स्पोट्र्सबार’ समेत सञ्चालन भइरहेको छ।

यसको सञ्चालन अन्तर्राष्ट्रिय होटल समूह लुभ्र होटल्स् ग्रुपअन्तर्गतको रोयल टुलिप ब्रान्डसँगको व्यवस्थापकीय सम्झौताअनुसार भइरहेको छ। कम्पनीले सन् २०२५ जुलाईदेखि रिसोर्टको सफ्ट ओपनिङ सुरु गरी डिसेम्बर मध्यदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो।

यसैबीच, केटीएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया पनि अगाडि बढाएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ५० हजार कित्ता (कुल १५ करोड ५० लाख रुपैयाँ बराबर) साधारण सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

आईपीओ निष्कासनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ’डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। रिसोर्टको कुल परियोजना लागत करिब १ अर्ब ७० करोड ५ लाख रुपैयाँ रहेको र आईपीओपछि ऋण–स्वपूँजी अनुपात ६१.५ ः ३८.५ कायम हुने प्रक्षेपण गरिएको छ। रेटिङ प्रतिवेदनले अन्तर्राष्ट्रिय ब्रान्ड आबद्धता र अनुभवी प्रवर्द्धक समूहलाई कम्पनीको सबल पक्षका रूपमा औंल्याएको छ।

केटीएम हस्पिटालिटी २०८१ असार २५ गते प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो। कम्पनीको नेतृत्व केटीएम ग्रुप होल्डिङ्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर शाहले गरिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर