२०८३ आश्विन २० • मंगलबार

हिमालय एअरलाइन्सले काठमाडौँ–हाङझाउ सिधा उडान सुरु गर्दै

Text size

काठमाडौँ । हिमालय एअरलाइन्स (IATA: H9) ले नेपाल र चीनबीचको हवाई सम्पर्क विस्तार गर्दै काठमाडौँ–हाङझाउ–काठमाडौँ सिधा उडान सुरु गर्ने भएको छ।

एअरलाइन्सले आगामी सेप्टेम्बर ३० तारिख बुधबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट चीनको हाङझाउस्थित हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलसम्म नियमित सिधा उडान सुरु गर्न लागेको हो।

हिमालय एअरलाइन्सका अनुसार यो रुटमा हाल हप्तामा दुईवटा उडान सञ्चालन गरिनेछ। काठमाडौँबाट हाङझाउका लागि प्रत्येक आइतबार र बुधबार उडान हुनेछ भने हाङझाउबाट काठमाडौँका लागि प्रत्येक सोमबार र बिहीबार फर्कने उडान सञ्चालन गरिनेछ।

एअरलाइन्सले मागअनुसार आगामी दिनमा यस रुटमा उडान संख्या थप्ने योजना रहेको जनाएको छ।

काठमाडौँ–हाङझाउ उडान H9 225 ले सेप्टेम्बर ३० तारिखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली समयअनुसार साँझ ५:१५ बजे उडान भर्नेछ। उक्त विमान अक्टोबर १ मा चीनको स्थानीय समयअनुसार बिहान १:०५ बजे हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

त्यसैगरी, हाङझाउबाट काठमाडौँका लागि हुने उडानले अक्टोबर १ मा स्थानीय समयअनुसार बिहान २ः०५ बजे हाङझाउबाट उडान भर्नेछ र सोही दिन नेपाली समयअनुसार बिहान ६ः२० बजे काठमाडौँ आइपुग्नेछ।

हिमालय एअरलाइन्सका अनुसार नयाँ रुटले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई थप सहज बनाउनुका साथै पर्यटन, व्यापार तथा सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्न सहयोग पुग्नेछ।

एअरलाइन्सले नेपालका पर्यटन तथा स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आफ्नो अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्दै आएको जनाएको छ। काठमाडौँ–हाङझाउ–काठमाडौँ उडानले नेपाललाई चीनसँग थप मजबुत रूपमा जोड्ने र दुवै देशका नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउन योगदान गर्ने एअरलाइन्सको विश्वास छ।

हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौँ–हाङझाउ–काठमाडौँ उडान सुरु हुनु नेपाल र चीनबीचको पर्यटन तथा व्यापारिक सम्बन्ध विस्तारका लागि महत्वपूर्ण कदम भएको बताए।

श्रेष्ठका अनुसार हिमालय एअरलाइन्सको मुख्य लक्ष्य चीनका विभिन्न १० पर्यटकीय गन्तव्यमा उडान सञ्चालन गर्नु र आगामी दिनमा १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्नु हो।

“हिमालय एअरलाइन्सले चीनमा नयाँ–नयाँ गन्तव्य पहिचान गर्दै नियमित उडान विस्तारलाई निरन्तरता दिँदै आएको छ। नयाँ बजारको खोजी र विस्तारमा हाम्रो योगदान महत्वपूर्ण रहँदै आएको छ,” श्रेष्ठले भने।

काठमाडौँ–हाङझाउ–काठमाडौँ रुटले नेपाल र चीनका नागरिकबीचको सम्बन्ध थप मजबुत बनाउनुका साथै पर्यटन तथा व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने उनले बताए।

“यस ऐतिहासिक उडानको सुरुवातसँगै हिमालय एअरलाइन्सले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुहरूलाई सहज र अविस्मरणीय यात्रा अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। हामी हाम्रा उडानमा यात्रुहरूलाई स्वागत गर्न र नेपाल तथा चीनले प्रदान गर्ने प्राकृतिक सौन्दर्य र विविध अवसरसँग जोड्न तत्पर छौँ,” श्रेष्ठले भने।

हिमालय एअरलाइन्सले नयाँ रुटबाट नेपाल र चीन दुबै देशमा पर्यटन तथा व्यापारिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर