
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईका लागि फ्लाईदुबईले दैनिक नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ। यससँगै पोखराबाट यूएईसँगको प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएको छ।
स्वीकृत उडान तालिकाअनुसार फ्लाईदुबईले बुधबारदेखि दैनिक रूपमा दुबई–पोखरा–दुबई उडान सञ्चालन गर्नेछ।
फ्लाईदुबईको बी ७३७–म्याक्स ८ विमानले उडान नम्बर एफजेड ११६५ मार्फत दुबईबाट ११३ यात्रु लिएर नेपाली समयअनुसार साँझ ६:१८ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। सोही विमान उडान नम्बर एफजेड ११६६ मार्फत १५२ यात्रु लिएर साँझ ७:५४ बजे पोखराबाट दुबईका लागि प्रस्थान गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। उक्त विमानमा १६६ यात्रु अट्ने क्षमता रहेको छ।

निरौलाका अनुसार दुबई–पोखरा उडानको अनुमानित अवधि ४ घण्टा ३० मिनेट र पोखरा–दुबई उडानको अवधि ४ घण्टा ५० मिनेट रहेको छ।
फ्लाईदुबईको नियमित उडान सुरु भएसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यूएईसँग प्रत्यक्ष अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार भएको छ। यसले पोखरा तथा गण्डकी प्रदेशको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुनुका साथै पर्यटन प्रवर्द्धन र यात्रु आवागमनमा थप सहजता पुग्ने अपेक्षा गरिएको छ।


