
काठमाडौं । रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पर्वतारोही एवं पर्यटन व्यवसायी मिङ्मा गेलु शेर्पाले ५०० थान रेन ज्याकेट वितरण गर्नुका साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५ लाख ११ हजार १११ सहयोग गरेका छन्।
सेभेन समिट्स क्लब नेपालका अध्यक्ष शेर्पा रसुवा पुगेर बाढी तथा पहिरो प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्दै राहत सामग्री वितरण गरेका हुन्।
स्थलगत रूपमा प्रभावित परिवारको अवस्था देखेपछि आफू अत्यन्तै दुःखी भएको बताउँदै शेर्पाले विपद्को समयमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले ज्याकेट वितरण र उद्धार कोषमा आर्थिक सहयोग गरेको बताए।
“आफ्नै आँखाले त्यहाँको अवस्था देख्दा निकै दुःख लाग्यो। बाढी र पहिरोका कारण भएको जनधनको क्षति तथा प्रभावित परिवारहरूले भोगिरहेको पीडा अत्यन्तै हृदयविदारक थियो,” शेर्पाले भने।

उनका अनुसार विपद्को समयमा राज्य तथा सम्बन्धित निकायको प्रयाससँगै निजी क्षेत्र र आम नागरिकको सहयोग पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
“मैले ५०० थान रेन ज्याकेट वितरण गर्नुका साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५ लाख ११ हजार १११ सहयोग गरेको छु। यस कठिन परिस्थितिमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न विनम्र अनुरोध गर्दछु,” उनले भने।

मिङ्मा गेलु शेर्पाको परिचय
मिङ्मा गेलु शेर्पाको मानवीय सेवासँग जोडिएको यो पहल उनको लामो पर्वतारोहण यात्रासँग पनि जोडिएको छ। सन् १९७९ फेब्रुअरी ३ मा संखुवासभाको मकालु क्षेत्रमा जन्मिएका शेर्पाले सन् १९९० को दशकको अन्त्यतिर ट्रेकिङ क्षेत्रमा पोर्टरका रूपमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए।
सन् १९९८ मा मेरा पिक र आइल्यान्ड पिक सफलतापूर्वक आरोहण गरेपछि उनले पर्वतारोहण क्षेत्रमा औपचारिक रूपमा आफ्नो यात्रा अघि बढाए। त्यसको एक वर्षपछि उनले पर्वतारोहणसम्बन्धी तालिम पूरा गरेका थिए।
सन् २००० मा पहिलोपटक सगरमाथा आरोहण
अभियानमा क्लाइम्बिङ शेर्पाका रूपमा सहभागी भएका उनी ८,५०० मिटर उचाइसम्म पुगे। यही क्रममा उनको भेट रुसी पर्वतारोही तथा सेभेन समिट्स क्लबका संस्थापक एलेक्स अब्रामोभसँग भएको थियो। त्यसपछि उनीहरूबीचको सम्बन्ध लामो समयको व्यावसायिक सहकार्यमा परिणत भयो।
सन् २००२ मा सगरमाथाको सफल आरोहण गरेपछि शेर्पाको अन्तर्राष्ट्रिय पर्वतारोहण यात्रा थप विस्तार भयो। उनले मकालु, चोयु, पुथा हिमचुलीलगायतका प्रमुख हिमाल तथा ७,००० मिटरभन्दा अग्ला अन्य थुप्रै हिमाल आरोहण गरेका छन्। उनले सगरमाथाको सफल आरोहण आठ पटक सफलतापूर्वक आराेहण गरिसकेका छन् ।
सन् २००३ मा दिदी लाक्पा शेर्पा र बहिनी मिङ्मा किपा शेर्पासँगै सगरमाथा आरोहण गरेका उनले पारिवारिक रूपमा समेत उल्लेखनीय कीर्तिमान कायम गरेका थिए। एकै परिवारका दाजुभाइ तथा दिदीबहिनीले आठ हजार मिटरभन्दा अग्लो हिमालमासँगै आरोहण गरेको उपलब्धिका रूपमा उक्त परिवारले गिनिज वर्ल्ड रेकर्डमा मान्यता पाएको उल्लेख छ।
एल्ब्रुस आरोहण गर्ने पहिलो नेपाली
सन् २००५ मा माउन्ट एल्ब्रुस आरोहण गर्ने पहिलो नेपाली पर्वतारोही बनेको श्रेय पनि शेर्पालाई दिइन्छ। त्यसयता उनले एल्ब्रुसको उत्तर र दक्षिण दुबै रुटबाट करिब ४० पटक आरोहण गरिसकेको बताइएको छ।
विभिन्न देशका आरोहीलाई एल्ब्रुस आरोहणमा नेतृत्व तथा मार्गदर्शन गर्दै उनले नेपाली पर्वतारोहीको सीप र अनुभवलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पु¥याउँदै आएका छन्।
पर्वतारोहणमार्फत विश्वका अग्ला हिमालमा नेपालको नाम पु¥याउँदै आएका मिङ्मा गेलु शेर्पाको रसुवा बाढीपीडितप्रतिको पछिल्लो सहयोगले विपद्को समयमा सामाजिक उत्तरदायित्व र मानवीय सेवाको अर्को उदाहरण प्रस्तुत गरेको छ।

