
काठमाडौं । दोस्रो नेपाल आदिवासी फिल्म फेस्टिभल (NIFF) २०२६ मा भारतको सिक्किम सरकारका स्वास्थ्य तथा परिवार कल्याण विभागका मन्त्री जी.टी. ढंगेल विशेष अतिथिका रूपमा सहभागी हुने भएका छन्।
आयोजकका अनुसार आगामी २७ सेप्टेम्बर २०२६ मा बेलायतमा आयोजना हुने फेस्टिभलमा मन्त्री ढुंगेलको विशेष उपस्थिति रहनेछ। आदिवासी चलचित्र, कला, संस्कृति तथा सिर्जनशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको फेस्टिभलमा उनको सहभागिताले कार्यक्रमलाई थप महत्त्वपूर्ण बनाउने आयोजकको विश्वास छ।
फेस्टिभलमा सिक्किम आर्ट, कल्चर एन्ड हेरिटेज डेभलपमेन्ट बोर्डका अध्यक्ष सञ्जय राई, सिक्किम म्युजिक, ड्रामा, डान्स एन्ड फिल्म बोर्डका अध्यक्ष तासी छिरिङ भुटिया तथा सिक्किमकी निर्देशक नियारा सुब्बा समेत सहभागी हुने आयोजकले जनाएको छ।
त्यस्तै, नेपाली चलचित्र क्षेत्रबाट राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री मिरुना मगर, अभिनेत्री गौमाया गुरुङ, सृजना निङलेक्खु र पशुपति राई लगायतका कलाकारहरूको समेत उपस्थिति रहनेछ।
आदिवासी कथा, संस्कृति र पहिचानमा केन्द्रित
फेस्टिभलमा आदिवासी समुदायका चलचित्र, कला, संस्कृति, भाषा र पहिचानलाई केन्द्रमा राखेर विभिन्न चलचित्र प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
नेपाल तथा भारतका विभिन्न आदिवासी समुदायका चलचित्रकर्मी, कलाकार तथा सांस्कृतिक व्यक्तित्वलाई एउटै मञ्चमा ल्याउँदै आपसी सम्बन्ध र सांस्कृतिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्य फेस्टिभलको रहेको आयोजकले जनाएको छ।
दोस्रो NIFF २०२६ तथा NEFIN UK का अध्यक्ष मेजर योगेश कोयी राई रहेका छन् भने फेस्टिभलका निर्देशक तथा चलचित्र निर्देशक समाजका अध्यक्ष अरुण प्रधान रहेका छन्।
फेस्टिभल निर्देशक अरुण प्रधानका अनुसार आदिवासी समुदायका कथा, पहिचान, संस्कृति र जीवनशैलीलाई चलचित्रमार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
उनका अनुसार फेस्टिभलले आदिवासी चलचित्रकर्मी तथा कलाकारलाई अन्तर्राष्ट्रिय मञ्च उपलब्ध गराउनुका साथै चलचित्र र संस्कृतिको माध्यमबाट विभिन्न समुदायबीचको सम्बन्धलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार फेस्टिभलमा नेपाल तथा भारतका विभिन्न आदिवासी समुदायसँग सम्बन्धित चलचित्र, कलाकार तथा संस्कृति र पहिचानका विविध पक्ष प्रस्तुत गरिनेछ।

