२०८३ आश्विन २० • मंगलबार

शिन्ता मणि मुस्ताङलाई प्रतिष्ठित ‘वान मिसेलिन की' सम्मान

Text size

काठमाडौं । नेपालमा लक्जरी तथा अनुभवमा आधारित पर्यटनले अन्तर्राष्ट्रिय पहिचान थप्दै गर्दा मुस्ताङस्थित शिन्ता मणि मुस्ताङले सन् २०२६ को मिसेलिन गाइड होटल सलेक्शन अन्तर्गत प्रतिष्ठित ‘वान मिसेलिन की' सम्मान प्राप्त गरेको छ।

सेप्टेम्बर १८, २०२६ मा घोषणा गरिएको उक्त सम्मानले शिन्ता मणि मुस्ताङलाई विशिष्ट र अविस्मरणीय आतिथ्य अनुभव प्रदान गर्ने चुनिएका होटलहरूमध्ये समेटेको छ।

वान मिसेलिन की त्यस्ता होटललाई प्रदान गरिन्छ, जहाँ पाहुनाले ‘विशेष अनुभव’ प्राप्त गर्ने मिसेलिनको मूल्यांकन हुन्छ। यस्ता होटलमा आफ्नै विशिष्ट व्यक्तित्व र चरित्र हुनुका साथै सेवा, वातावरण र समग्र अनुभवले पाहुनामा विशेष प्रभाव पार्ने अपेक्षा गरिन्छ।

मिसेलिनका व्यावसायिक तथा गोप्य निरीक्षकहरूले सामान्य पाहुनाझैं होटल बुक गरी प्रत्यक्ष अनुभव लिएर मूल्यांकन गर्छन्। मूल्यांकनका क्रममा वास्तुकला तथा आन्तरिक डिजाइन, सेवाको गुणस्तर र निरन्तरता, होटलको व्यक्तित्व तथा चरित्र, मूल्यअनुसारको अनुभव र होटलले आफ्नो स्थानीय परिवेशमा पुर्‍याएको योगदान गरी पाँचवटा विश्वव्यापी मापदण्डलाई आधार बनाइन्छ।

मुस्ताङको तल्लो भेगमा करिब २,८०० मिटर उचाइमा निलगिरि हिमालको काखमा रहेको शिन्ता मणि मुस्ताङमा २९ वटा सुइट छन्। होटलको डिजाइनमा मुस्ताङको वास्तुकला, परम्परा, प्राकृतिक दृश्य, संस्कृति र स्थानीय पहिचानलाई समकालीन शैलीसँग जोडिएको छ।

मुस्ताङको मौलिकता र दुर्गमपनलाई जोगाउँदै पाहुनालाई यस क्षेत्रको संस्कृति, प्रकृति, स्वास्थ्य तथा स्थानीय जीवनसँग नजिकबाट जोड्ने उद्देश्यले होटलको अवधारणा विकास गरिएको हो।

होटलको आन्तरिक डिजाइन बिल बेन्स्लीले गरेका हुन्। उनले मुस्ताङको परिवेशलाई केन्द्रमा राखेर डिजाइन गरिएको उल्लेख गर्दै भनेका छन्, “हामीले जहाँ निर्माण गर्दैछौँ, सबैभन्दा पहिले त्यही ठाउँलाई बुझ्ने प्रयास गर्छौँ। मुस्ताङको हकमा त्यो हामीले निर्माण गरिरहेको उपत्यका हो।”

स्थानीय सामग्रीको प्रयोग, मुस्ताङका माटोका पहाडबाट प्रेरित रङ तथा स्थानीय परम्पराबाट लिइएका विभिन्न कलात्मक पक्ष होटलको डिजाइनमा देख्न सकिन्छ। यसले होटललाई वरपरको प्राकृतिक तथा सांस्कृतिक परिवेशसँग घुलमिल गराउँदै आधुनिक सुविधा र स्थानीय पहिचानबीच सन्तुलन कायम गरेको छ।

शेर्पा हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत नामग्याल शेर्पाले वान मिसेलिन की प्राप्त हुनु होटल, कर्मचारी तथा मुस्ताङका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

उनले भने, “शिन्ता मणि मुस्ताङले वान मिसेलिन की प्राप्त गरेकोमा हामी अत्यन्त खुसी छौँ। यो होटल, हाम्रो टोली र मुस्ताङ गन्तव्यका लागि महत्वपूर्ण सम्मान हो। मुस्ताङको आफ्नै बलियो पहिचान र सांस्कृतिक सम्पदा छ। सुरुदेखि नै हाम्रो उद्देश्य त्यस पहिचानको सम्मान गर्दै पाहुनालाई यस क्षेत्रको अर्थपूर्ण र अविस्मरणीय अनुभव दिलाउने होटल निर्माण गर्नु थियो। मुस्ताङले यस्तो अन्तर्राष्ट्रिय पहिचान पाएकोमा हामी गर्व गर्छौँ।”

शिन्ता मणि मुस्ताङको अर्को महत्वपूर्ण विशेषता

हिमाली स्वास्थ्य तथा परम्परागत ज्ञानमा केन्द्रित अनुभव हो। होटलले हिमाली क्षेत्रमा प्रचलित परम्परागत चिकित्सा तथा उपचार प्रणाली सोरिग (SoRig) लाई समेटेको छ। साथै, ११औँ पुस्ताका अम्ची त्सेवााङ गुरुङको परम्परागत ज्ञानलाई पनि होटलको स्वास्थ्य तथा वेलनेस अनुभवसँग जोडिएको छ।

पाहुनाले स्थानीय समुदाय, परम्परा, खानपान र प्राकृतिक परिवेशसँग नजिकबाट जोडिने विभिन्न अनुभव लिन सक्ने व्यवस्था पनि होटलले गरेको छ। स्थानीय बासिन्दासँगै खाना खाने, उनीहरूका कथा र जीवनशैलीबारे बुझ्ने लगायतका अनुभवलाई होटलले प्राथमिकता दिएको छ।

होटलले स्थानीय समुदायसँगको सम्बन्धलाई पनि आफ्नो आतिथ्य अवधारणाको महत्वपूर्ण हिस्सा मानेको छ। स्थानीय रोजगारी, साझेदारी तथा समुदायको सहभागितामा विशेष जोड दिइएको छ।

वान मिसेलिन की प्राप्त भएसँगै नेपाल विशिष्ट र अनुभवमा आधारित पर्यटन गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय स्तरमा थप चिनिन पुगेको छ। विशेषगरी मुस्ताङको असाधारण प्राकृतिक सौन्दर्य, जीवित संस्कृति, परम्परागत ज्ञान, हिमाली स्वास्थ्य प्रणाली र स्थानीय समुदायसँगको सम्बन्धलाई अन्तर्राष्ट्रिय यात्रुहरूमाझ थप परिचित गराउन यो सम्मानले योगदान गर्ने अपेक्षा गरिएको छ।

शिन्ता मणि मुस्ताङका लागि यो सम्मान स्थानीय भूगोल, मानिस र संस्कृतिमा आधारित आतिथ्यको अवधारणाको अन्तर्राष्ट्रिय पहिचानका रूपमा आएको छ। होटलले आधुनिक सुविधासँगै मुस्ताङको मौलिकता र स्थानीय जीवनसँग जोडिएको अर्थपूर्ण अनुभव प्रदान गर्ने आफ्नो उद्देश्यलाई निरन्तरता दिएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर