
काठमाडौं । कर्णालीमा पर्यटन क्षेत्रको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारद्धारा चालु आर्थिक वर्षमा ५३ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
मुगुको रारा ताल, सुर्खेतको काँक्रेविहार, बुलबुले उद्यान तथा चौहान पार्क, सल्यानको कुपिण्डे दह र रुकुम पश्चिमको स्यार्पु तालको गुरुयोजना कार्यान्वयनका लागि मात्रै २१ करोड ३५ लाख रुपैयाँ प्रदेश सरकारले छुट्याएको छ।
पर्यटन क्षेत्रको विकास अन्तर्गत पार्क, उद्यान, पदमार्ग, दृश्यावलोकन स्थल तथा प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार निर्माण एवं स्तरोन्नतिलाई प्राथमिकता दिइएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले जानरकारी दिइन् ।
मन्त्री खड्काले पर्यटनलाई पूर्वाधार विकास, सेवा सुधार र गन्तव्य व्यवस्थापनसँग जोडेर अघि बढाउने बताइन्।
प्रदेश सरकारले पर्यटन क्षेत्रलाई रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोड्न ‘कर्णाली पर्यटन दशक’ घोषणा गर्ने कार्यक्रमसमेत अघि सारेको खड्काको भनाई छ ।
जसअन्तर्गत गन्तव्यको संरक्षण, पहुँच विस्तार, प्रचारप्रसार, पर्यटन सेवाको गुणस्तर सुधार तथा स्थानीय जनशक्तिको सीप विकासमा जोड दिने सरकारको योजना रहेको छ ।
कर्णालीका रारा, शे–फोक्सुण्डो, स्यार्पु, कुपिण्डे, काँक्रेविहार, पञ्चकोशी, सिञ्जा र लिमी उपत्यकासहित प्राकृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदालाई पर्यटन सञ्जालमा जोड्ने सरकारको रणनिति रहेको छ ।
तर पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक, यातायात, आवास, खानेपानी, सञ्चार तथा सूचना प्रणाली कमजोर रहेकाले बजेटको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको पर्यटन सरकोकारवालाको चिन्ता रहदै आएको छ ।
सरोकारवालाहरुले पूर्वाधार निर्माणसँगै प्रचारप्रसार, सेवा गुणस्तर र स्थानीय समुदायको आम्दानी बढाउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने मा जोड दिदै आएका छन्।

