२०८३ आश्विन २० • मंगलबार

हिमालय एअरलाइन्सका कर्मचारीद्वारा बाढीप्रभावितलाई १३ लाख बढी सहयोग

Text size

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुलाई हिमालय एअरलाइन्सका कर्मचारीहरूले १३ लाख बढी रकम सहयोग गरेका छन् ।

बाढी प्रभावितहरुको राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुऱ्याउन एअरलाईन्सका कर्मचारीहरुले १३ लाख २० हजार ६६६ रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

एअरलाईन्सका कर्मचारीहरूले स्वेच्छिक रूपमा १४ लाख ७० हजार ६६६ संकलन गरेकोमा जम्मा रकमको १० प्रतिशत अर्थात् रु. १ लाख ५० हजारभन्दा बढी रकम विपद्बाट प्रत्यक्ष प्रभावित हिमालय एअरलाइन्स्का कर्मचारीका परिवारलाई सहयोगस्वरूप उपलब्ध गराइएको हो । बाँकी १३ लाख २० हजार बढी रकम उद्धार कोषमा हस्तान्तरण गरिएको एअरलाइन्स्ले जनाएको छ।

हिमालय एअरलाइन्स्का उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले कर्मचारीहरूले संकलन गरेको रु. १३ लाख २० हजार ६६६ को चेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल (गणेश)लाई हस्तान्तरण गरेका हुन्। कर्मचारीहरूद्धारा आर्थिक सहयोगसँगै लत्ताकपडा समेत संकलन गरिएको छ ।

गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण त्रिशूली करिडोर आसपासका विभिन्न बस्तीमा जनधनको क्षति हुनुका साथै घर, सडक, पुल तथा अन्य भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ ।

हिमालय एअरलाइन्स्ले राष्ट्रिय विपद्को समयमा कर्मचारीहरूको स्वस्फूर्त सहयोगले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता अभिव्यक्त गरेको जनाएको छ। एअरलाइन्स्ले बाढी प्रभावित नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै प्रभावित परिवारको उद्धार, राहत तथा पुनस्र्थापनाका प्रयास प्रभावकारी हुने अपेक्षा पनि गरेको छ।

सन् २०१४ मा नेपाल–चीन संयुक्त साझेदारीका रूपमा स्थापना भएको हिमालय एअरलाइन्स् अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो। हिमालय एअरलाइन्स्ले हाल संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बंगलादेश र चीनलगायतका गन्तव्यमा उडान गरिरहेको जनाईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर