
काठमाडौं । सगरमाथाका प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पाको जीवनमा आधारित फिल्म ‘तेन्जिङ’को ग्राण्ड वर्ल्ड प्रिमियर भएको छ ।
सन् १९५३ मा सर एडमन्ड हिलारीसँगै सगरमाथाको चुचुरोमा पुगेर इतिहास बनाएका तेन्जिङ नोर्गे शेर्पाको जीवन, संघर्ष र साहसिक यात्रालाई प्रस्तुत गरेको फिल्म ‘तेन्जिङ’ को टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा रेड कार्पेटसहित वर्ल्ड प्रिमियर भएको हो ।
फिल्मको प्रिमियरपछि तेन्जिङ नोर्गे शेर्पाका छोरा जम्लिङ तेन्जिङले सामाजिक सञ्जाल मार्फत खुसी व्यक्त गरेका छन्। उनले फिल्मको वर्ल्ड प्रिमियरलाई आफ्नो परिवार र समुदायका लागि विशेष र गर्वको क्षण भन्दै खुसी साटेका हुन् ।
उनले आफ्ना स्व. पिता तेन्जिङ नोर्गे शेर्पाले सर एडमन्ड हिलारीसँग सगरमाथाको ऐतिहासिक आरोहण गरेको ७३ वर्षपछि उनको कथा ठूलो पर्दामा आएको बताएका छन्।
‘मेरो बुबाले सगरमाथाको ऐतिहासिक आरोहण गरेको ७३ वर्षपछि उहाँको कथा अन्ततः ठूलो पर्दामा आएको छ। यो हाम्रो परिवार र शेर्पा समुदायका लागि गर्वको क्षण हो,’ उनले लेखेका छन्।
जम्लिङले यो फिल्म केवल सगरमाथा आरोहणको कथा मात्र नभएर साहस, दृढता, मित्रता र शेर्पा समुदायको असाधारण योगदानको कथा पनि भएको जनाएका छन् ।
उनले आफ्ना पिताको जीवनयात्रालाई विश्वभरका दर्शकमाझ पुर्याउन सहयोग गर्ने एप्पल, फिल्मका कलाकार तथा सम्पूर्ण निर्माण टोलीलाई धन्यवाद समेत दिएका छन्।
‘मेरो बुबाको अविश्वसनीय यात्रालाई यति धेरै माया, सम्मान र समर्पणका साथ पर्दामा उतार्नुभएकोमा एप्पल, सम्पूर्ण कलाकार र निर्माण टोलीप्रति हृदयदेखि धन्यवाद,’ उनले लेखेका छन्।

