
काठमाडौं । विश्वको आठौँ अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को आरोहण मार्ग खुलेको छ ।
मनास्लुको शिखरसम्म डोरी टाँग्ने काम सम्पन्न भएसँगै सन् २०२६ को शरद् ऋतुका लागि मनास्लु आरोहण मार्ग औपचारिक रूपमा खुलेको हो ।
पर्वतारोहण सञ्चालक संघ नेपाल (EOA-NEPAL)का महासचिव ऋषि राम भण्डारीका अनुसार शरद् ऋतुका लागि मनास्लु हिमाल आरोहणको बाटो खोल्ने तथा डोरी टाँग्ने कार्यमा खटिएको टोली बिहीबार असोज १ गते साँझ ९ः२५ बजे मनास्लु हिमालको शिखरमा सफलतापूर्वक पुगेको हो।
टोलीले मनास्लु हिमालको शिखरसम्मको बाटो खोल्ने तथा डोरी टाँग्ने कार्य सफलतापूर्वक सम्पन्न गर्दै नेपाल सरकार, पर्यटन विभाग तथा पर्वतारोहण सञ्चालक संघ नेपालको झण्डासमेत शिखरमा फहराइएको छ।
डोरी टाँग्ने टोलीको नेतृत्व छिरिङ भोटेले गरेका थिए । टोलीमा फुरी शेर्पा, कर्म सार्की शेर्पा, लोप्साङ भोटे, निमा शेर्पा, पाम दोर्जी शेर्पा र पासाङ ग्याल्जेन शेर्पा सहभागी रहेको महासचिव भण्डारीले जनाएका छन् ।
पछिल्लो समय हिमालमा देखिएको असहज परिस्थिति तथा चुनौतीलाई मध्यनजर गर्दै डोरी टाँग्ने टोलीमा सात जना आरोही रहे पनि 8k Expeditions Pvt Ltd का सञ्चालक लाक्पा शेर्पाले लामो समयदेखि हिमालमा बाटो खोल्ने तथा डोरी टाँग्ने कार्यमा अनुभवी र दक्ष क्लाइमिङ गाइड कर्म ग्याल्जेन शेर्पा र टासी शेर्पालाई थप सहयोगका लागि उपलब्ध गराएको भण्डारीले जानकारी दिए ।
उनीहरू दुबैको सहभागिता र सहयोगले डोरी टाँग्ने टोलीलाई थप सहज भएको भण्डारीले बताए । नौ जना अनुभवी आरोहीहरूको संयुक्त प्रयास, साहस, अनुभव र सहकार्यमा मनास्लु हिमालको शिखरसम्मको बाटो खोल्ने तथा डोरी टाँग्ने कार्य सफलतापूर्वक सम्पन्न भएको उनको भनाई छ । यससँगै शरद् ऋतुको यस सिजनको मनास्लु आरोहण समेत सुरु भएको छ।
यस महत्वपूर्ण कार्यमा खटिनुभएका सम्पूर्ण आरोहीहरू तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सबैप्रति पर्वतारोहण सञ्चालक संघ नेपालले धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेको छ।
४८० जनालाई मनास्ल आराेहण अनुमति
शरद् ऋतुमा मनास्लु हिमालमा सबैभन्दा धेरै ४८० जनाले आरोहण अनुमति लिएका छन्। मनास्लु आरोहणका लागि अनुमति पाउनेमा ३५४ जना पुरुष र १२६ जना महिला रहेका छन्।
नेपाल सरकारले नौ वटा हिमालमा ६६ देशका ५३९ जना आरोहीलाई आरोहण अनुमति दिएकोमा सबै भन्दा धेरै मनास्लु हिमाल आरोहणका लागि अनुमति दिईएको हो ।
पर्यटन विभागका अनुसार १६ सेप्टेम्बर २०२६ सम्मको तथ्यांकअनुसार अनुमति पाउने आरोहीमध्ये ४०१ जना पुरुष र १३८ जना महिला छन्।
६६ देशमध्ये चीनबाट सबैभन्दा धेरै ११५ जना आरोहीले अनुमति लिएका छन्। त्यसपछि रुसका ५३, अमेरिकाका ३९, फ्रान्सका ३४, बेलायतका २८ तथा जर्मनी र जापानका १६–१६ जना आरोही रहेका छन्।
नौ वटा हिमालका लागि जारी गरिएको आरोहण अनुमतिबाट नेपाल सरकारले कुल १४ लाख ८० हजार ९४३ अमेरिकी डलर रोयल्टी संकलन गरेको पर्यटन विभागको तथ्यांकमा उल्लेख छ।

