२०८३ आश्विन २० • मंगलबार

मनास्लु रोप फिक्सिङ टोलीमा २६ वर्षीय पासाङ ग्याल्जेन शेर्पा

Text size

काठमाडौं । पर्वतारोहण क्षेत्रमा प्रवेश गरेको छ वर्षमै २६ वर्षीय पासाङ ग्याल्जेन शेर्पाले मनास्लु हिमालको रोप फिक्सिङ टोलीमा रहेर नयाँ जिम्मेवारी सम्हालेका छन्। संखुवासभाका पासाङ यस वर्षको शरद ऋतु मनास्लु रोप फिक्सिङ टोलीका सबैभन्दा कान्छा सदस्य हुन्।

पासाङ सन् २०२१ देखि पर्वतारोहण क्षेत्रमा सक्रिय छन्। उनले हालसम्म सगरमाथा तीन पटक, अमादब्लम दुई पटक तथा हिमलुङ हिमाललगायतका हिमालहरू आरोहण गरिसकेका छन्।

उनको पर्वतारोहण करियर भने हिमालका बेस क्याम्पमा बारिस्टाका रूपमा सुरु भएको थियो। सन् २०२१ मा ट्याग नेपालमा काम गरेका उनले २०२२ र २०२३ मा एलिट एक्सपिडिसनको बेस क्याम्पमा बारिस्टाको जिम्मेवारी सम्हाले। सन् २०२४ देखि उनी सातोरी एडभेन्चर्समा क्लाइम्बिङ गाइड तथा फोटोग्राफरका रूपमा कार्यरत छन्।

यस वर्ष भने पासाङ पहिलोपटक मनास्लु हिमालको रोप फिक्सिङ टोलीमा सहभागी भएका हुन्। आरोहण र गाइडिङको अनुभव भए पनि आरोहीका लागि सुरक्षित मार्ग तयार पार्ने रोप फिक्सिङको जिम्मेवारी उनका लागि नयाँ अनुभव हो। आफन्तकै प्रेरणाले यो क्षेत्रमा लागेको उनको भनाई छ ।

“मेरा आमाका आफन्त र काकाहरू सबै पर्वतारोहण क्षेत्रमा हुनुहुन्छ। मेरो दाइ पनि यही क्षेत्रमा हुनुहुन्छ। उहाँहरूको प्रेरणाबाट म यो क्षेत्रमा आएको हुँ,” पासाङले भने।

मनास्लुमा रोप फिक्सिङ टोलीसँग काम गर्दा उहाँहरूबाट धेरै कुरा सिक्ने अवसर पाइरहेको उनले बताए। टोलीका सदस्यहरूको सहयोगका कारण रुट तयार पार्ने काम सहज भइरहेको उनको भनाइ छ।

“अहिलेसम्म मनास्लुको रुट खोल्ने काम त्यति गाह्रो भएको छैन्। टोलीमा भएका दाइहरू सबै जना निकै अनुभवी, बलिया र सहयोगी हुनुहुन्छ। उहाँहरूसँगै काम गर्दै धेरै कुरा सिक्ने अवसर पाइरहेको छु,” उनले भने।

कक्षा १२ सम्म अध्ययन गरेका पासाङले छोटो समयमै पर्वतारोहण क्षेत्रमा उल्लेख्य अनुभव हासिल गरेका छन्। क्लाइम्बिङ गाइडका रूपमा काम गरिसकेका उनका लागि रोप फिक्सिङ भने फरक प्रकृतिको चुनौती बनेको छ। आरोहीहरूलाई सुरक्षित रूपमा शिखरतर्फ अघि बढ्न सहज हुने गरी रुट तयार पार्नु उनको नयाँ जिम्मेवारी हो।

परिवारका सदस्यहरूको प्रभाव र प्रेरणाका कारण पर्वतारोहण क्षेत्रमा प्रवेश गरेको बताउने पासाङ भविष्यमा पनि यही क्षेत्रमा निरन्तरता दिने वा विदेश जाने भन्ने विषयमा भने अहिले कुनै निश्चित योजना नरहेको बताउँछन्।

“अहिले नै भविष्यमा के गर्ने भन्ने निश्चित गरेको छैन्। अहिलेसम्म यही क्षेत्रमा काम गरिरहेको छु र ठीकै भइरहेको छ। यही क्षेत्रमा काम गर्दै जाँदा भविष्यमा के हुन्छ, थाहाँ छैन्। अब हेरौँ। विदेश पनि जान सक्छु,” उनले भने।

पर्वतारोहण क्षेत्रमा प्रवेश गरेको छ वर्षमै आरोही, क्लाइम्बिङ गाइड, फोटोग्राफर हुँदै रोप फिक्सिङ टोलीको सदस्यसम्मको यात्रा तय गरेका पासाङका लागि मनास्लुको यो जिम्मेवारी नयाँ सिकाइको अवसर बनेको छ। अनुभवी आरोहीहरूसँगको सहकार्य र रोप फिक्सिङको अनुभवले आगामी दिनमा पर्वतारोहण क्षेत्रमा थप जिम्मेवारी सम्हाल्न र आत्मविश्वास बढाउन सहयोग हुने उनको अपेक्षा छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर