२०८३ आश्विन २० • मंगलबार

साहित्यबाट मानवीय सेवा : न्यूयोर्कमा बाढीपीडितका लागि २ लाख ३१ हजार संकलन

Text size

काठमाडौं । नेपालको भोटोकेशीमा आएको बाढीपहिरोबाट प्रभावित परिवारको सहयोगार्थ न्यूयोर्कमा आयोजित एक कार्यक्रमबाट २ लाख ३१ हजार बढी रुपैया संकलन भएको छ ।

न्यूयोर्कमा आयोजित “Books for Flood Victims - Stories That Give Hope” कार्यक्रममा पुस्तक बिक्रीमार्फत १ हजार ५०२ अमेरिकी डलर अर्थात् नेपाली रुपैया २ लाख ३१ हजार ७१९ रुपैयाँ संकलन भएको हो ।

साहित्य र पुस्तकलाई मानवीय सेवाको माध्यम बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा लेखक तथा साहित्यकारहरूले सहयोग स्वरूप उपलब्ध गराएका पुस्तक बिक्री गरिएको थियो। आयोजकका अनुसार कार्यक्रममा पुस्तक बिक्रीबाहेक अन्य कुनै पनि प्रकारको नगद दान स्वीकार गरिएको थिएन ।

पासाङ नुरु शेर्पा र प्रतीक्षा थकालीको मुख्य आयोजनामा तथा खसोखास, NEPYORK र अनेसास न्यूयोर्क च्याप्टरको सह–आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाल तथा अन्तर्राष्ट्रिय क्षेत्रका लेखक, साहित्यकार, पत्रकार, विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी तथा साहित्यप्रेमीसहित ७० जनाभन्दा बढीको सहभागिता थियो।

कार्यक्रममा विभिन्न पुस्तकहरू लेखक स्वयंको उपस्थितिमा बिक्री गरिएको थियो। सहभागीहरूले पुस्तक खरिद गर्दै बाढीपहिरो प्रभावित परिवारको सहयोग अभियानप्रति ऐक्यबद्धता जनाएका छन् ।

परम्परागत औपचारिक कार्यक्रमभन्दा फरक शैलीमा आयोजना गरिएको कार्यक्रममा लेखक, पाठक र समुदायबीच प्रत्यक्ष संवाद, पुस्तक परिचय, साहित्यिक प्रस्तुति र मानवीय सहयोगको भावनालाई प्राथमिकता दिइएको थियो।

कार्यक्रममा लेखक रेनी थकाली तथा पर्वतारोही एवं गिनिज वल्र्ड रेकर्ड होल्डर लाक्पा देन्डी शेर्पाले हिमाली क्षेत्रको बदलिँदो अवस्था तथा ग्लोबल वार्मिङले हिमालय क्षेत्रमा पारेको प्रभावबारे आफ्ना अनुभव प्रस्तुत गरेका थिए ।

त्यस्तै, पिटर गिलले मन्तव्य राखेका थिए भने खसोखास तथा ल्भ्एथ्इच्प् का प्रधान सम्पादक किशोर पन्थीले नेपालमा आएको बाढीपहिरोबाट भएको मानवीय क्षति तथा प्रभावित परिवारको अवस्थाबारे जानकारी गराएका थिए ।उनले विपद्को समयमा प्रवासी नेपाली समुदायले देखाउनुपर्ने सहयोग र ऐक्यबद्धताको आवश्यकता बारे प्रकाश पारेका थिए ।

हिमालयन बुद्धिस्ट कम्युनिटीका अध्यक्ष राजकुमार बिष्टले शुभकामना मन्तव्य राखेको कार्यक्रममा साहित्यकार किशन धामी, लक्ष्मी श्रेष्ठ र पद्म लिंखालगायतका स्रष्टाले कविता वाचन गरेका थिए ।

यस्तै अनेसास न्यूयोर्क च्याप्टरकी अध्यक्ष जानुका ओस्ती ढकालले धन्यवाद मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन प्रतीक्षा थकालीले गरेकी थिइन्।

आयोजकका अनुसार पुस्तक बिक्रीबाट प्राप्त सम्पूर्ण रकम बाढीपहिरो प्रभावित परिवारको सहयोगार्थ नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ ।

आयोजकले पुस्तक उपलब्ध गराउने लेखक तथा साहित्यकार, पुस्तक खरिद गर्ने पाठक, कार्यक्रममा सहभागी अतिथि, संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर