२०८३ आश्विन २० • मंगलबार

तामाङ एभरेस्ट समिटर्स एसोसिएसन नेपालद्वारा रसुवाका बाढीपीडित ४० परिवारलाई ग्यास सिलिन्डर वितरण

Text size

काठमाडौं । तामाङ एभरेस्ट समिटर्स एसोसिएसन नेपालले रसुवाका बाढीपीडित परिवारलाई खाना पकाउने ग्यास सिलिन्डर वितरण गरेको छ। बाढीमा श्रीमान् गुमाएका महिलादेखि गर्भवती महिला तथा आमाबुबा दुबै गुमाएका बालबालिकासम्मलाई लक्षित गर्दै संस्थाले सोमबार राहत तथा सहयोग उपलब्ध गराएको हो।

संस्थाले आमाछोदिङ्मो गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्म पुगेर बाढीबाट प्रभावित परिवारलाई ग्यास सिलिन्डरसहित आवश्यक सहयोग गरेको जनाएको छ।

तामाङ एभरेस्ट समिटर्स एसोसिएसन नेपालकी अध्यक्ष शर्मिला लामाका अनुसार बाढीमा श्रीमान् गुमाएका करिब ४० जना महिलालाई ग्यास सिलिन्डर वितरण गरिएको छ। सहयोग प्राप्त गर्नेमा गर्भवती महिलासमेत छन्, जसले विपद्का कारण जीवनसाथी गुमाएपछि थप कठिन परिस्थितिको सामना गरिरहेका छन्।

बाढीपहिरोमा आमाबुबा दुबै गुमाएका बालबालिकालाई समेत संस्थाले सहयोग गरेको लामाले जानकारी दिइन्।

बाढीपछि खाना पकाउने ग्यासको अभाव भइरहेका बेला प्रभावित परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले ग्यास सिलिन्डरको व्यवस्था गरी वितरण गरिएको लामाले बताइन्। उक्त सहयोगका लागि जर्मनीका पिटर र उनको परिवारसहित विभिन्न सहयोगीले योगदान गरेका थिए।

सहयोग अभियानमा साथ दिने संस्थाका सदस्य, जर्मनीका पिटर र उनको परिवार तथा अन्य सहयोगीप्रति तामाङ एभरेस्ट समिटर्स एसोसिएसन नेपालले आभार व्यक्त गरेको छ।

यसैगरी, रसुवाका बाढीपीडित परिवारलाई सहयोग गर्ने अभियानमा बागमती प्रदेशसभा सदस्य राधिका तामाङको पनि महत्वपूर्ण साथ, उपस्थिति र ऐक्यबद्धता रहेको थियो।

विपद्बाट प्रभावित परिवारलाई राहतसँगै सम्मान र आशाको अनुभूति दिलाउन सामूहिक सहयोग आवश्यक रहेको संस्थाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर