
काठमाडौं । त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली समुदायलाई सहयोग गर्ने उद्देश्यले अमेरिकाको न्यूयोर्कमा 'बुक्स फर फ्लड भिक्टिम्स' : Stories That Give Hope’ कार्यक्रम आयोजना हुने भएको छ।
न्यूयोर्कमा रहेका नेपाली लेखकहरूले आफ्ना प्रकाशित पुस्तकहरू बिक्री तथा प्रदर्शन गर्दै बाढीपीडितका लागि सहयोग जुटाउन कार्यक्रम आयोजना गर्न लागेका हुन्। कार्यक्रम सेप्टेम्बर १३ तारिख साँझ ६ बजेदेखि राति ९ बजेसम्म ज्याक्सन हाइट्सस्थित Himalayan Yak Restaurant, 72-20 Roosevelt Ave, Jackson Heights, NY 11372 मा हुनेछ।
आयोजकका अनुसार पुस्तक बिक्रीबाट प्राप्त हुने शतप्रतिशत रकम नेपाल सरकारको विपद् राहत कोषमा प्रदान गरिनेछ। बाढीका कारण परिवार, घर तथा जीविकोपार्जन गुमाएका प्रभावितलाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमले न्यूयोर्कमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा भेला गराउँदै कथा, साहित्य र सामाजिक एकताको माध्यमबाट विपद्मा परेका नेपालीप्रति ऐक्यबद्धता जनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा हिमालय र नेपालको जीवन, संस्कृति, पहिचान तथा अनुभवसँग सम्बन्धित विभिन्न पुस्तकहरू सहभागी लेखकहरूले प्रस्तुत गर्नेछन्। सहभागी पुस्तकहरूमा ‘The Joyous Fort’, ‘Our Homeland in Thini’, ‘Behind the Mask: A Pandemic Memoir’, ‘Kampan’, ‘Zero Mile’, ‘Untranslatable’, ‘Voices of the Himalayas’, ‘Beyond the Mountains’, ‘Our Land, Our Stories’, ‘Himalayan Echoes’, ‘Roots That Remember’ र विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाबारे लेखिएको पुस्तक ‘Himalayan Maverick’ लगायत रहेका छन्।
आयोजकले सहयोगको आकार सानो वा ठूलो जे भए पनि बाढीपीडितको पुनःस्थापना र जीवन पुनर्निर्माणमा योगदान पुग्ने बताएका छन्। कार्यक्रमलाई समुदाय, साहित्य र मानवीय सहयोगलाई जोड्ने अवसरका रूपमा लिइएको छ।
‘Stories That Give Hope’ अर्थात् आशा जगाउने कथामार्फत विपद्मा परेका नेपालीलाई साथ दिने अभियानमा सहभागी हुन आयोजकले न्यूयोर्कवासी नेपाली तथा शुभेच्छुकहरूलाई आग्रह गरेका छन्।
कार्यक्रम न्यूयोर्कमा रहेका नेपाली लेखकहरूको समूहले आयोजना गरेको हो। कार्यक्रममा खसोखास लगायतका संस्थाको सहकार्य रहेको छ।

