२०८३ आश्विन २० • मंगलबार

भोटेकोशी बाढीपीडितको राहतमा शिखर इन्स्योरेन्सको साथ, १ करोड ११ लाख बढी प्रदान

Text size

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि शिखर इन्स्योरेन्स लि.ले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउनुका साथै पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग रकम प्रदान गरिएको कम्पनीले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो।

शिखर इन्स्योरेन्सले विपद्का समयमा प्रभावित समुदायसँग एकताबद्ध भएर सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको जनाएको छ।

कम्पनीले कठिन परिस्थितिमा प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणका लागि सबै पक्ष एकजुट भएर सहयोग गर्नसमेत आग्रह गरेको छ।

कम्पनीले भनेको छ, “हाम्रो जिम्मेवारी बीमा सुरक्षा प्रदान गर्नेमै सीमित छैन। आवश्यक परेको समयमा समुदायसँगै उभिनु पनि हाम्रो जिम्मेवारी हो।”

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था र निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर