
काठमाडौं । होटल संघ नेपालले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा पर्यटकको उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न सहयोग गरेको जनाएको छ।
होटल संघ नेपालको आग्रहपछि अधिकांश सदस्य होटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्। संघका अनुसार हालसम्म प्राप्त विवरणअनुसार होटल किङ्सबेरीले १ करोड ११ लाख रुपैयाँ, चन्द्रागिरी हिल्सले ५२ लाख ५१ हजार, होटल मेची क्राउनले २६ लाख, एभरेष्ट होटलले २० लाख तथा रामडा इन्क्योर ठमेलले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।
त्यस्तै, अर्किड ग्लोरी लिमिटेड अन्तर्गतका होटल क्राउन इम्पेरियल र माउन्ट ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पाले ५ लाख ११ हजार १११ रुपैयाँ, ड्रिम ग्रुप बुटवलले ५ लाख ३ हजार, होटल सारथीले १ लाख ६५ हजार तथा होटल एम्बासडर र क्लब हिमालयले १–१ लाख रुपैयाँ सहयोग गरेका छन्। होटल संघ नेपाल सिन्धुलीले १ लाख ४ हजार २८५ रुपैयाँ सहयोग गरेको संघले जनाएको छ। धुलिखेल माउन्टेन रिसोर्ट, होटल नान्स, होटल मेलुङ्त्येलगायतबाट समेत रकम जम्मा भएको जनाइएको छ।
संघका अनुसार विभिन्न होटलमा कार्यरत कर्मचारीहरूले पनि व्यक्तिगत रूपमा राहत कोषमा रकम सहयोग गरेका छन्। साथै, होटल संघ नेपालले सञ्चालन गरेको आफ्नै राहत कोषमा एयरपोर्ट होटल, ग्राण्ड होटल, होटल स्वागतम र होटल रेनफरेष्टलगायतबाट प्राप्त रकम संकलन गरी प्रभावित क्षेत्रमा सहयोग गरिनेछ।
आर्थिक सहयोगसँगै कतिपय सदस्य होटलले खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य अत्यावश्यक सामग्री प्रत्यक्ष प्रभावित क्षेत्र तथा सम्बन्धित निकायमार्फत उपलब्ध गराइरहेको संघले जनाएको छ।
बाढीका कारण बेपत्ता भएका नागरिक तथा पर्यटकको खोजी र अवस्थाबारे जानकारी लिन नेपालभित्रका आफन्त तथा विदेशी पर्यटकका परिवारलाई सहजता प्रदान गर्न संघले सम्बन्धित प्रदेश तथा जिल्ला होटल संघसँग समन्वय गरी निःशुल्क बसोबास र खानपानको व्यवस्था समेत मिलाएको जनाएको छ।
नेपाल पर्यटन बोर्डमा स्थापना गरिएको बेपत्ता पर्यटकका परिवारका आफन्तलाई आवश्यक सहयोग तथा व्यवस्थापनमा समेत संघले काम गरिरहेको छ। सम्पर्कविहीन स्वदेशी तथा विदेशी नागरिकका परिवारलाई सूचना, समन्वय तथा मानवीय सहयोग उपलब्ध गराउन संघ सक्रिय रहेको एक विज्ञप्ति मार्फत जानकारी दिईएको छ।
यसैबीच, बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिक एवं पर्यटकप्रति श्रद्धाञ्जली अर्पण गर्न होटल संघ नेपालले प्रार्थना सभा आयोजना गर्ने भएको छ। उक्त सभामार्फत मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता प्रकट गरिने संघले जनाएको छ।

