
काठमाडौं । नेपालको निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले आफ्नो नयाँ सिरिजको ब्त्च्–७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु गरेको छ। नयाँ जहाजले शुक्रबार बिहान काठमाडौंबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान भरेको हो।
9N-AOS कलसाइनको उक्त जहाज ६६ यात्रुसहित आज (शुक्रबार) बिहान ८ः०६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्जतर्फ उडेको बुध्द एयरले जनाएको छ।

फ्रान्सको तुलुसबाट गत जुलाई २५ मा नेपाल ल्याइएको जहाजले आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गरेपछि व्यावसायिक उडान थालेको हो। जहाजको रंगरोगन तथा अन्य तयारीका लागि करिब एक महिना लागेको कम्पनीले जनाएको छ।
नयाँ एटिआर ७२–६०० मा पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट तथा उन्नत सुरक्षा प्रणाली जडान गरिएको छ। RNP-AR नेभिगेसन प्रणालीका कारण निर्धारित मापदण्ड र प्रक्रियाअनुसार कम भिजिबिलिटीमा समेत उडान तथा अवतरणलाई थप सहज बनाउन सकिने कम्पनीको दाबी छ।
नयाँ सिरिजको जहाजमा यात्रुका लागि सिट तथा ओभरहेड बिन पनि पहिलेको सिरिजभन्दा ठूलो बनाइएको छ। जहाजको आन्तरिक संरचनामा सुधार गरिएकाले ध्वनि प्रदूषणसमेत कम हुने बताइएको छ। तुलनात्मक रूपमा कम इन्धन खपत गर्ने भएकाले एटिआर ७२–६०० लाई क्षेत्रीय उडानका लागि वातावरणमैत्री जहाजका रूपमा लिइन्छ।
बुध्द एयरले आगामी केही समयभित्र थप एउटा एटिआर ७२–६०० जहाज आफ्नो बेडामा थप्ने तयारी गरेको जनाएको छ। हाल कम्पनीसँग १४ वटा एटिआर ७२–५०० र एउटा एटिआर ७२–६०० गरी १५ वटा एटिआर जहाज छन्। यसअघि दुईवटा एटिआर जहाजलाई उडान सेवाबाट हटाइसकेको तथा एउटा एटिआर ४२–३२० लाई कम उडान साइकल भएका कारण पार्ट–आउटका लागि युरोपस्थित कम्पनीलाई बिक्री गरेको कम्पनीले जनाएको छ।

दशैंसम्म सस्तो हवाई भाडा
रसुवामा भदौ १० गते आएको भीषण बाढीपछि विभिन्न राजमार्ग तथा सडक पूर्वाधारमा क्षति पुगेका कारण सडक यातायात प्रभावित भइरहेका बेला बुध्द एयरले यात्रुलाई राहत दिने उद्देश्यले राजमार्ग सहज नहुँदासम्म न्यूनतम भाडादरमा उडान सञ्चालन गर्ने जनाएको छ।
कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतका अनुसार यो सहुलियत दशैं, तिहार तथा छठपूजासम्म कायम रहनेछ।
“प्राकृतिक विपत्तिका कारण सडक आवागमनमा समस्या हुँदा हवाई सेतुमार्फत यात्रुलाई सहज आवागमनको विकल्प उपलब्ध गराउनु हाम्रो दायित्व हो।” उनले भने ।
बस्नेतले सस्तो भाडादरमा सेवा दिँदा कम्पनीमाथि आर्थिक भार पर्ने भए पनि संकटको समयमा राष्ट्रलाई आवश्यक सहयोग गर्नु आफ्नो दायित्व भएको बताए।
इन्धनको मूल्य दोब्बर हुँदा पनि भाडा नियन्त्रणको प्रयास
बुध्द एयरका अनुसार हवाई सेवा सञ्चालन खर्चमा हवाई इन्धनको हिस्सा करिब ३५ देखि ४० प्रतिशत हुन्छ। पछिल्लो सात महिनामा हवाई इन्धनको मूल्यमा करिब ९६ प्रतिशत वृद्धि भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार हवाई इन्धनको मूल्य कम र स्थिर रहँदा मात्रै एयरलाइन्सले तुलनात्मक रूपमा कम भाडामा सेवा दिन सक्ने अवस्था रहन्छ।
मौसम प्रतिकूलता तथा एयर ट्राफिकका कारण केही उडानमा ढिलाइ हुनसक्ने भए पनि यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउन कम्पनी प्रतिबद्ध रहेको बस्नेतले बताएका छन्।
राहत सामग्रीको ढुवानी निःशुल्क
बुध्द एयरले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा पठाइने राहत सामग्रीको निःशुल्क हवाई ढुवानीलाई पनि निरन्तरता दिएको जनाएको छ।
कम्पनीका अनुसार अहिलेसम्म विभिन्न जिल्लाबाट संकलित ७ हजार ३२२ केजी राहत सामग्री निःशुल्क ढुवानी गरी सम्बन्धित अधिकारीलाई हस्तान्तरण गरिएको छ।
सबैभन्दा धेरै राहत सामग्री भरतपुरबाट २,१८८ केजी, भैरहवाबाट २,०४८ केजी, धनगढीबाट १,६६५ केजी तथा पोखराबाट ७५५ केजी ढुवानी गरिएको कम्पनीले जनाएको छ। त्यस्तै भद्रपुरबाट १०५, सुर्खेतबाट १२०, विराटनगरबाट २७२, सिमराबाट १७ र नेपालगञ्जबाट २६ केजी राहत सामग्री ढुवानी गरिएको छ।
नयाँ जहाज थपिएसँगै उडान क्षमता र मर्मत तालिकालाई थप व्यवस्थित बनाउँदै आन्तरिक हवाई सेवालाई सहज बनाउने कम्पनीको योजना छ। बुध्द एयरले हाल आन्तरिकतर्फ दैनिक १४० भन्दा बढी उडान सञ्चालन गर्दै आएको जनाएको छ। अन्तर्राष्ट्रियतर्फ काठमाडौं–वाराणसी सातामा तीन तथा काठमाडौं–कोलकाता सातामा चार उडान सञ्चालन भइरहेका छन्। पोखराबाट भैरहवा र नेपालगञ्जका लागि समेत उडान हुँदै आएको कम्पनीले जनाएको छ।

