२०८३ मंसिर ५ • शनिबार

विपद् राहत कोषमा नाडाको १० लाख सहयोग

Text size

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित जिल्लामा उद्धार, राहत तथा पुनरुत्थानका लागि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नाडाले गहिरो दुःख व्यक्त गर्दै विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

राष्ट्रिय विपद्को यस घडीमा सरकारसँग सहकार्य गर्दै उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग गर्ने प्रतिबद्धता नाडाले जनाएको छ । नाडाले नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीलाई एकजुट भई विपद् प्रभावितको उद्धार तथा राहतमा सहयोग गर्नसमेत आह्वान गरेको छ ।

विपद्पछिको उद्धार तथा राहतमा सुरक्षा निकाय, स्थानीय प्रशासन र सरकारी संयन्त्रले देखाएको तत्परता र अथक प्रयासप्रति नाडाले आभार व्यक्त गरेको छ ।

प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै उद्धार तथा राहत कार्यमा निजी क्षेत्रलाई समेत सहयोग गर्न गरिएको सरकारी आह्वानअनुसार आफूहरू सहयोगका लागि सधैं तयार रहेको नाडाले जनाएको छ ।

विपद्का कारण जनजीवन प्रभावित भए पनि आर्थिक गतिविधिलाई चलायमान राख्न आवश्यक रहेको नाडाको भनाइ छ । सोही कारण भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ निरन्तर सञ्चालनमा रहने नाडाले जनाएकाे छ ।

विपद्सँग जुध्दै आर्थिक गतिविधिलाई पनि निरन्तरता दिनुपर्ने भएकाले अटो शो नरोक्ने निर्णय गरिएको नाडाले जनाएको छ ।

नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीले सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिकको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

नाडाले विपद्को सामना गर्न सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट हातेमालो गर्न र आर्थिक गतिविधिलाई समेत निरन्तरता दिन अपिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर