२०८३ आश्विन २० • मंगलबार

‘नाडा अटो शो २०२६’ भोलिदेखि सुरु, अग्रिम टिकट बुकिङ खुला

Text size

काठमाडौं । १८औँ नाडा अटो शो २०२६ भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले जनाएको छ। नाडाले अवलोकनकर्ताको सुविधाका लागि अग्रिम टिकट बुकिङसमेत खुला गरेको छ।

नाडाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अटो शोको तयारी पूरा भएको जानकारी दिएको हो। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार सोमबारसम्म प्रदर्शनीस्थलमा २ सय १५ भन्दा बढी स्टल निर्माण भइसकेका छन्।

सोमबार पत्रकारलाई प्रदर्शनीस्थलको भ्रमण गराउँदै अध्यक्ष उप्रेतीले विगतका वर्षको तुलनामा यसपटक स्टलहरू फराकिलो र व्यवस्थित बनाइएको दाबी गरे। प्रदर्शनीस्थललाई ह्विलचेयरमैत्री बनाइएको छ भने पर्याप्त बत्ती, एसी तथा पंखाको व्यवस्था गरिएको उनले जानकारी दिए।

प्रदर्शनीस्थललाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी विभिन्न क्षेत्रमा विभाजन गरिएको छ।

अवलोकनकर्ताले प्रदर्शनीस्थलमा सवारीसाधन, वित्त तथा बीमा र सर्भिस तथा पार्ट्ससम्बन्धी स्टलहरू क्रमशः अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको नाडाले जनाएको छ। यसले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई विभिन्न ब्रान्ड, मूल्य, वित्तीय सुविधा, बीमा तथा बिक्रीपछिको सेवाबारे तुलनात्मक जानकारी लिन सहज हुने आयोजकको विश्वास छ।

नाडाका अनुसार अटो शोमा ५३ वटा सवारीसाधन ब्रान्ड, ७० वटा पार्ट्स तथा सेवा कम्पनी र करिब ११ वटा बैंक तथा वित्तीय संस्था सहभागी भएका छन्।

अवलोकनकर्ताको सुविधालाई मध्यनजर गर्दै नाडाले अग्रिम टिकट बुकिङको व्यवस्था गरेको छ। अग्रिम टिकट खल्ती एप वा आधिकारिक क्यूआर कोडमार्फत खरिद गर्न सकिनेछ। सर्वसाधारणका लागि प्रवेश शुल्क २ सय रुपैयाँ र विद्यार्थीका लागि १ सय ५० रुपैयाँ तोकिएको नाडाले जनाएको छ।

भोलि बिहान १०ः३० बजेदेखि सुरु हुने अटो शोको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्ने कार्यक्रम रहेको छ।

अध्यक्ष उप्रेतीका अनुसार अटो शोमा आउने अवलोकनकर्ताका लागि नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनको भूमिगत पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा सवारीसाधन पार्किङको व्यवस्था गरिएको छ।

प्रदर्शनीस्थलमा ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया तथा आकस्मिक स्वास्थ्य सेवासमेत उपलब्ध हुने नाडाले जनाएको छ। साथै, सुरक्षाका लागि सीसीटीभी निगरानी र अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर