
फुर्पा शेर्पा, काठमाडौं ।हिमालको सेतो सौन्दर्यले संसारभरका लाखौँ साहसीलाई आफूतिर आकर्षित गरिरहेको हुन्छ। हिमालको सौन्दर्यमा लोभिने मानिसमा मन, चाहना र रुचि मात्र भएर पुग्दैन; त्यसका लागि अदम्य साहस, निष्ठा, धैर्य र लगनशीलता पनि आवश्यक हुन्छ।
त्यही हिमालको काखमा एउटा कठोर यथार्थ पनि लुकेको छ। हिमालले जसलाई आकर्षित गर्छ, ऊ या त शिखर चुमेर संसार जित्दै फर्कन्छ, या त त्यही हिमालको काखमा चिरनिद्रामा सुत्न पुग्छ।
पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परी ज्यान गुमाएका छ नेपाली आरोहीले विश्व पर्वतारोहण क्षेत्रमा ठूलो योगदान गरेका थिए। पाकिस्तानमा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा गएको हिमपहिरोले नेपालकाे पर्वतारोहण क्षेत्रका महत्वपूर्ण हस्तीहरू गुमाउनुपर्यो। एउटै घटनामा नेपाली पर्वतारोहण क्षेत्रको एक पुस्ताकै महत्वपूर्ण प्रतिभा गुम्यो।
ब्रोड पिकमा गएको हिमपहिरोमा परेका यी छ नेपाली पर्वतारोही लामो समयदेखि विश्व पर्वतारोहण समुदायको अग्रपङ्क्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए।
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’
हर असम्भवलाई सम्भव बनाउने साहसका कारण विश्वभर परिचित निर्मल पुर्जा ‘निम्स दाइ’ म्याग्दीमा जन्मिएका हुन्। सानैदेखि बेलायती सेनामा भर्ती हुने उनको रुचि थियो। गोरखा सैनिकमा सक्रिय रहँदा नै उनले आरोहण यात्रा सुरु गरेका थिए।
उनको आधिकारिक वेबसाइट एलिट एक्स्पेडका अनुसार उनले कुल १६ वर्ष बेलायती सेनामा बिताए। त्यसमध्ये ६ वर्ष गोरखा सैनिक र १० वर्ष ‘यूके स्पेसल फोर्स’ (एसबीएस) मा बिताएका थिए। १८ वर्षको उमेरमा सन् २००३ मा गोरखा सैनिकमा भर्ती भएर उनले आफ्नो सपना पूरा गरेका थिए। म्याग्दीमा जन्मिए पनि चितवनमा हुर्किएकाले उनको प्रारम्भिक जीवनमा हिमालसँग प्रत्यक्ष सम्बन्ध थिएन।
सन् २००९ मा उनी गोरखा सैनिकबाट स्पेसल बोट सर्भिस (एसबीएस) मा आबद्ध हुने पहिलो गोरखा सैनिक बने। यस युनिटमा मुख्यतः रोयल मरिन्स कमान्डोहरू कार्यरत हुन्छन् र यो गोप्य तथा रणनीतिक कारबाहीमा विशेष दखल राख्ने युनिटका रूपमा चिनिन्छ।
उनले सन् २०१२ देखि हिमाल आरोहण सुरु गरेका थिए। स्पेसल फोर्सको ड्युटीबाट छुट्टीमा आएका बेला उनले सगरमाथा आधार शिविरको यात्रा गरेका थिए। उक्त यात्राले उनको हिमालप्रतिको लगाव र महत्त्वाकांक्षा थप बढायो।
काठमाडौं फर्किएपछि उनले आफ्ना गाइडसँग आरोहण सिक्ने इच्छा व्यक्त गरे। त्यस क्रममा गाइडसँगै ६,११९ मिटर अग्लो लोबुचे इस्ट हिमाल सफलतापूर्वक आरोहण गरे। यही उनको हिम चुचुरोतर्फको पहिलो महत्वपूर्ण पाइला थियो।
त्यसपछि उनी सैन्य सेवामै फर्किए। एसबीएसमा उनले अत्यधिक चिसो मौसममा युद्ध सञ्चालनसम्बन्धी विषयमा विशेषज्ञका रूपमा काम गरे। एलिट एक्स्पेडका अनुसार त्यही क्रममा उनले जुनसुकै कठिन परिस्थितिमा शीघ्र मूल्याङ्कन गर्ने र अरूको सुरक्षा सुनिश्चित गर्ने क्षमता विकास गरेका थिए। यही सीप पछि उनका कठिन आरोहण तथा उद्धार अभियानमा महत्वपूर्ण साबित भयो।
सैन्य सेवाबाट छुट्टी पाउनेबित्तिकै उनी नेपाल फर्किएर आरोहणलाई निरन्तरता दिन्थे। प्रारम्भमा उनी कीर्तिमान बनाउनेभन्दा संकटमा परेका आरोहीको उद्धार र सहयोगमा बढी केन्द्रित थिए।
सन् २०१९ मा उनले ६ महिना ६ दिनमा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरे। सन् २०२१ मा उनले १० नेपाली आरोहीको टोलीसँगै केटु हिमालको पहिलो सफल हिउँदे आरोहण गरेर अर्को विश्व कीर्तिमान बनाए।
उनीसँग पाँच दिनमा सगरमाथा, ल्होत्से र मकालु आरोहण गरेको कीर्तिमानसमेत छ। उनले बेलायती महारानी एलिजाबेथ द्वितीयबाट एमबीई सम्मान प्राप्त गरेका थिए। सगरमाथाबाट स्काइडाइभ गरेर उनले साहसिक पर्यटन प्रवर्द्धनमा समेत योगदान दिएका थिए।
निम्सले आठ हजार मिटरभन्दा अग्ला हिमालमा ५७ पटक सफल आरोहण गरेर नयाँ कीर्तिमान बनाएका थिए, जसमा २९ वटा आरोहण बिना अक्सिजन थिए। ब्रोड पिक अभियानमा जानुअघि उनले पाकिस्तानकै ग्यासरब्रुम–२ आरोहण गरी आफ्नो ५७औँ आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण पूरा गरेका थिए।
नेपाली पर्वतारोही तथा IFMGA/NNMGA माउन्ट गाइड पुरबहादुर गुरुङ (युक्ता)
गोरखाको लाप्राक-३ मा जन्मिएका पुरबहादुर गुरुङ ‘युक्ता’को बाल्यकाल हिमालकै काखमा बित्यो। सन् १९८८ मा जन्मिएका उनीपछि मनाङको एउटा होटलमा काम गर्न पुगे।
त्यहाँ ट्रेकिङ गाइडहरूसँग उनको सम्पर्क बढ्दै गयो। गाइड बन्ने रहर बोकेर उनी काठमाडौं आए र सन् २००६ मा पोर्टरका रूपमा काम सुरु गरे। त्यसपछि क्याम्पिङ समूहमा किचन हेल्परका रूपमा काम गरे। बिस्तारै ट्रेकिङ कुकु, सहायक गाइड हुँदै ट्रेकिङ गाइडका रूपमा समेत काम गर्ने अवसर पाए।
गत डिसेम्बरमा मात्र उनले इन्टरनेसनल माउन्टेन गाइडको प्रमाणपत्र प्राप्त गरेका थिए। उनी गुरुङ समुदायबाट सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीका रूपमा परिचित थिए।
युक्ताले सन् २०२६ को वसन्त ऋतुमा दशौँपटक सगरमाथाको सफल आरोहण गर्दै गुरुङ समुदायबाट सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने आरोहीको कीर्तिमान बनाए। आफ्नो पर्वतारोहण यात्रामा उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये १२ वटा सफलतापूर्वक आरोहण गरेका थिए। आठ हजार मिटरभन्दा अग्ला हिमालमा उनले कुल २८ पटक सफल आरोहण गरेका थिए।
उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल सफलतापूर्वक आरोहण गर्न शिशापाङ्मा र चोयु हिमाल मात्र आरोहण गर्न बाँकी थियो। ३८ वर्षको उमेरमा ब्रोड पिकमा गएको हिमपहिरोमा परी उनको निधन भयो। उनको शव पाकिस्तानबाट काठमाडौं ल्याई अन्त्येष्टि समेत गरिसकिएको छ।
विश्व कीर्तिमानी पर्वतारोही ग्यालु शेर्पा
सन् १९७८ आसपास ओखलढुंगाको पात्लेमा जन्मिएका ग्यालु शेर्पा सेभेन समिट ट्रेक्स कम्पनीमा कार्यरत थिए। एक दशकभन्दा बढी समयदेखि व्यावसायिक आरोहण मार्गदर्शकका रूपमा सक्रिय उनले विश्वका कठिन हिमालहरूमा सयौँ आरोहीलाई सुरक्षित रूपमा नेतृत्व गर्दै सफल आरोहण गराएका थिए।
उनी सेभेन समिट ट्रेक्स प्रालिमा वरिष्ठ क्लाइमिङ गाइडका रूपमा कार्यरत थिए। उनले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा १५ दिनभित्र तीनपटक सफलतापूर्वक आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेका थिए। यही ऐतिहासिक उपलब्धिले उनलाई अन्तर्राष्ट्रिय रूपमा थप परिचित बनाएको थियो।
उनले सगरमाथा, कञ्चनजङ्घा, अन्नपूर्ण–४, मनास्लु, चोलात्से, हिमलुङ, आमादब्लम, लेनिन पिक, मेरा पिक र लोबुचे पिकलगायत थुप्रै हिमाल सफलतापूर्वक आरोहण गरेका थिए।
सन् २०२३ को जनवरीमा उनले आफ्ना क्लाइन्टलाई मार्गदर्शन गर्दै मनास्लुको दुर्लभ हिउँदे आरोहणसमेत सफलतापूर्वक सम्पन्न गरेका थिए। यसले उनको व्यावसायिक दक्षता, साहस र समर्पणलाई थप स्थापित गरेको थियो। उनको शव पाकिस्तानबाट काठमाडौं ल्याई अन्त्येष्टि समेत गरिसकिएको छ।
विश्व कीर्तिमानी पर्वतारोही किली पेम्बा शेर्पा ‘किलु’
किली पेम्बा शेर्पा ‘किलु’ले ब्रोड पिक अभियानमा जानुअघि नै आठ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमालको सफल आरोहण पूरा गरेका थिए।
किलीपेम्बा कहिल्यै कीर्तिमानको पछाडि दौडिएनन्। बरु अरूको सपना पूरा गराउन सधैँ तत्पर रहे। दोलखाको गौरीशंकर गाउँपालिका–९, बेदिङका किलीपेम्बाको किशोरावस्थादेखि नै भरियाका रूपमा हिमालसँग साइनो जोडिएको थियो।
सन् २०२१ को माउन्ट केटु हिउँदे आरोहणमा उनी १० सदस्यीय टोलीका एक सदस्य थिए। किली पेम्बाले सगरमाथाको चुचुरोमा १५ पटक पाइला राखेका थिए। उनको जन्म सन् १९८१ मा भएको थियो। सन् १९९६ मा मनास्लु क्षेत्रमा पुग्दै उनले पर्वतारोहण यात्रा सुरु गरेका थिए भने सन् २००३ मा पहिलोपटक सगरमाथाको चुचुरो चुमेका थिए।
उनको सहयोगमा हिमालमा कैयौँ कठिन तथा जोखिमपूर्ण आरोहण सफल भएका छन्। उनको शव पाकिस्तानबाट काठमाडौं ल्याई अन्त्येष्टि समेत गरिसकिएको छ।
पर्वतारोही निमा शेर्पा
पर्वतारोहण क्षेत्रमा निमा शेर्पालाई चिन्नेहरू उनलाई एक मिहिनेती र इमानदार आरोहीका रूपमा सम्झन्छन्। संखुवासभाको मकालु गाउँपालिकाका निमा पछिल्लो समय शिखर सफलताको सिँढी चढ्दै थिए।
सन् २०२६ मा मात्र उनले आठ हजार मिटरभन्दा अग्ला पाँच वटा हिमाल सफलतापूर्वक आरोहण गरेका थिए। उनले सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से र मनास्लुलगायतका हिमाल आरोहण गरेका थिए।
पदयात्रामा सहयोगीको भूमिका निर्वाह गर्दागर्दै उनी पर्वतारोहणतर्फ आकर्षित भएका थिए। पछि उनी व्यावसायिक क्लाइमिङ गाइडका रूपमा सक्रिय भए।
एलिट एक्स्पेडका वरिष्ठ क्लाइमिङ गाइड शेर्पा ब्रोड पिकमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका १० पर्वतारोहीमध्ये एक थिए। एलिट एक्स्पेडका अनुसार निमा मेहनती, इमानदार र साहसी पर्वतारोहीका रूपमा परिचित थिए। पर्वतप्रतिको उनको समर्पण र व्यावसायिकताका कारण उनी सहकर्मी, आरोही तथा साथीहरूमाझ सम्मानित र प्रिय थिए। उनको शव पाकिस्तानबाट काठमाडौं ल्याई अन्त्येष्टि समेत गरिसकिएको छ।
युवा आरोही नवाङ तेन्डु शेर्पा
२९ वर्षको उमेरमै नवाङ तेन्डु शेर्पाको पर्वतारोहण यात्रा सन् २०२६ जुलाई ३० मा दुःखद रूपमा टुंगियो। पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परी उनको निधन भयो।
शेर्पा ब्रोड पिकमा गएको हिमपहिरोमा परेका १० आरोहीमध्ये एक थिए। अल्पाइन क्लब पाकिस्तानका अनुसार उनको शव अत्यन्त कठिन तथा उच्च जोखिमयुक्त क्षेत्रमा रहेको थियो। उक्त स्थानमा थप हिमपहिरोको जोखिम रहेकाले शव निकाल्ने प्रयास गर्नु अत्यन्त जोखिमपूर्ण भएको थियो। त्यसैले उनको शव ब्रोड पिकबाट निकाल्न सकिएन।
संखुवासभाका शेर्पा सेभेन समिट ट्रेक्स कम्पनीमा क्लाइमिङ गाइडका रूपमा कार्यरत थिए। उनका लागि पर्वतारोहण केवल पेशा मात्र थिएन; यो पुस्तौँदेखि परिवारमा हस्तान्तरण हुँदै आएको विरासत पनि थियो।
उनले सन् २०२२ मा पहिलोपटक सफलतापूर्वक सगरमाथा आरोहण गरेका थिए। त्यसपछि ल्होत्से, मनास्लु, कञ्चनजङ्घा, मकालु र आमादब्लमलगायतका हिमाल पनि सफलतापूर्वक आरोहण गरेका थिए।
तर उनको योगदान आफ्नै आरोहणमा मात्र सीमित थिएन। अरूको जीवन बचाउन उनले जोखिमपूर्ण खोज तथा उद्धार र शव उद्धारका विभिन्न अभियानमा समेत सक्रिय सहभागिता जनाएका थिए। अरूलाई सुरक्षित रूपमा घर फर्काउन आफ्नो ज्यानसमेत जोखिममा राख्ने नवाङको पर्वतारोहण यात्रा अन्ततः ब्रोड पिकको भीषण हिमपहिरोसँगै टुंगियो। उनको शव पाकिस्तानबाट काठमाडौं ल्याई अन्त्येष्टि समेत गरिसकिएको छ। अल्पाइन क्लब पाकिस्तानका अनुसार उनको शव उच्च उचाइमा रहेको दुर्गम तथा अत्यधिक हिमपहिरोको जोखिमयुक्त क्षेत्रमा रहेकाले थप उद्धार प्रयास अत्यन्त जोखिमपूर्ण बनेपछि ब्रोड पिकबाट निकाल्न सकिएन।
साउन १४ गते (जुलाई ३०) पाकिस्तानको ब्रोड पिकमा गएको भीषण हिमपहिरोमा विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जासहित १० जना आराेही हिमपहिरोमा परेका थिए।
यस दुर्घटनामा नेपालले निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’, किलीपेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, ग्यालु शेर्पा र नवाङ तेन्डु शेर्पालाई गुमायो। उक्त टोलीमा पाकिस्तानी आरोही सोहेल साखी, ओमानी पर्वतारोही नधिरा अल हर्थी, अमेरिकी आरोही म्यालोरी गाइस र चिनियाँ आरोही वाङ झोङ पनि सहभागी थिए।
यी छ आरोहीले नेपालकाे पर्वतारोहण क्षेत्रमा मात्र होइन, अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा समेत उल्लेखनीय योगदान छोडेर गएका छन्। उनीहरूका कीर्तिमान, साहस, व्यावसायिक दक्षता र उद्धार तथा सहयोगका अनुभवले नेपाली पर्वतारोहणको इतिहासमा छुट्टै स्थान बनाएको छ।
अल्पाइन क्लब पाकिस्तानका अनुसार हालसम्म आठ पर्वतारोहीको शव फेला पारिएको छ भने एक जना पर्वतारोही अझै बेपत्ता छन्। नवाङ तेन्डु शेर्पाको शव ब्रोड पिकबाट निकाल्न सकिएको छैन् भने अमेरिकी पर्वतारोही म्यालोरी गेइस अझै बेपत्ता छिन्। फेला परेका आठै जनाको शव परिवारलाई बुझाइसकिएको छ।

