२०८३ आश्विन २० • मंगलबार

ग्याँसको अनुगमनका नाममा होटलमा छापा मार्नु गलत : होटल संघ नेपाल

Text size

काठमाडौं । खाना पकाउने ग्याँसको अनुगमनका नाममा होटल व्यवसाय प्रति नकरात्मक सुचना प्रचार प्रसार भएको भन्दै होटल संघ नेपालले आपत्ती जनाएको छ ।

अन्तर्राष्ट्रिय चेन भएको ५ तारे होटलमा सरकारले अनुगमनको नाममा खाना पकाउने एलपी ग्याँसको संचितिको विषयमा आम संचारमाध्यम मार्फत सार्वजनिक समाचारप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

होटलमा ग्राहको संख्या, बुकिङ, माग, तथा कार्यक्रमहरु अनुसार खानाका परिकार पकाउनका लािग लाग्ने भन्दा बढीे ग्याँस सिंचित नरहेको होटल संघले जनाएको छ ।

“काठमाडौंमा होटल संघको सदस्य समेत रहेको होटलमा खाना पकाउने ग्याँस, ग्राहक संख्या, बुकिङ संख्या र माग अनुरुप तयार गर्ने खानाको किसिम र परिमाण अनुसारको खाना पकाउने प्रयोजनका लागि राखिएको ग्याँस आवश्यक्ता भन्दा बढी र अन्यथा नभएको स्पष्ट पार्दछौं ।” संघले भनेको छ ।

होटलहरुमा रहेका एलपी ग्याँस नाफा आर्जनको लागि विक्री वितरण गर्न वा कालोबजारी गतिविधिलाई प्रशय दिन नभई नितान्त व्यवसायिक र सेवा प्रयोजनका लागि हो भन्ने विषय सरल ढंगमा मनन् गरिदिन हुन समेत सम्बन्धित निकायलाई होटल संघले स्पष्ट पारेको छ ।

अन्य सामान्य व्यापार भन्दा होटल व्यवसाय फरक रहेको होटल संघले जनाएको छ । “होटलहरूमा ठूलो संख्यामा कर्मचारी तथा कामदार कार्यरत रहने, दैनिक रूपमा स्वदेशी, विदेशी पाहुनाहरूलाई बिहानको खाना, दिवा भोजन तथा रात्रिभोज लगायत विभिन्न प्रकारका खाद्य सेवा उपलब्ध गराउनुपर्ने तथा होटल परिसरमा नियमित रूपमा सभा, सम्मेलन, गोष्ठी, उत्सव, भोजलगायत ठूला कार्यक्रमहरू आयोजना हुने भएकाले अन्य सामान्य व्यवसायको तुलनामा खाना पकाउने प्रयोजनका लागि ग्याँसको खपत स्वाभाविक रूपमा बढी हुने गर्दछ ।”

यस्तै होटलको नियमित सञ्चालन, पाहुनाको सेवा तथा खाद्य सुरक्षा सुनिश्चित गर्न आवश्यक परिमाणमा ग्याँस मौज्दात राखिनुलाई मात्र अस्वाभाविक वा कालोबजारीको रुपमा अर्थ लगाउनु उचित नहुने संघले जनाएको छ ।

ठूला अन्तर्राष्ट्रिय ब्राण्डका होटलका भान्सा विशिष्ट उपयोग हुने औद्योगिक किसिमका हुने र यसको संचालन बारे प्राविधिक एवं व्यवस्थापकीय प्रक्रिया बारे जानकारी लिएर गरिने सरकारी अनुगमनको निर्णय एकतर्फी एवं स्वेच्छाचारी नहुने हुँदा यसतर्फ पनि ध्यान पुर्याउन होटल संघले सम्बन्धीत पक्षको ध्यानाकर्षण गरेको छ ।

“राज्यको नीति नियमको पूर्ण पालना गरी व्यवसाय संचालन गरिरहेको अवस्थामा ग्याँस लगायतका आधारभूत अत्यावश्यक पदार्थको नियमित आपूर्तिको प्रत्याभूति नभई अन्तर्राष्ट्रिय पर्यटकहरुलाई स्तरीय सेवा दिन नसकिने यथार्थ हुँदाहुँदै पनि अनुगमनको नाममा सरकारी निकायबाट एकतर्फी अव्यवहारिक कार्यले होटेलको सेवा प्रवाह गर्न कठिनाई रहने समेत जानकारी गराउदछौं ।”

यसरी देशकै प्रतिष्ठित होटलको नाम नै किटान गरी संचारमाध्यममा समाचार प्रकाशन, प्रसारण गरिदा राष्ट्रिय पर्यटन कै छवि धुमिल हुने खतरा औंल्याउँदै होटल संघ नेपालले सम्बद्ध सरकारी पक्षलाई अनुगमनको नाममा त्रास र अनिश्चय नबढाइ दिन समेत अनुरोध गरेको छ ।

सरकारले बिहिबार एक होटलमा छापा मारी आवश्यक्ता भन्दा बढी ग्याँस सिलिण्डर संचित गरेको भन्दै संचारमाध्यममा समाचार आएको थियो ।

होटल संघले पर्यटन क्षेत्रको निर्वाध संचालन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा रहेको परिप्रेक्ष्यमा अन्य सरकारी निकायहरुले नियमसंगत रुपमा गर्ने अनुगमनमा समेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जानकारी र समन्वय अनिवार्य रुपमा हुनुपर्नेमा जोड दिएको छ ।

“प्रचलित ऐन, कानून तथा सरकारी मापदण्डको पूर्ण पालना गर्दै संचालित होटल उद्योगको संवेदनशीलता, यसको अत्यावश्यक सेवाको प्रकृति तथा दैनिक सञ्चालनका व्यावहारिक पक्षलाई समेत ध्यानमा राखी अनुगमन तथा नियमनका कार्यहरू समन्वयात्मक, मर्यादित र तथ्यपरक ढंगले अघि बढाइनु आवश्यक रहेको छ ।”

"अनुगमनका क्रममा देखिएका विषयलाई एकतर्फी रूपमा सञ्चारमाध्यममा प्रस्तुत गर्दा समग्र होटल उद्योग तथा व्यवसायीको प्रतिष्ठामा मात्र नभई अन्तर्राष्ट्रिय जगतमा समेत नकारात्मक असर पर्ने अवस्था सिर्जना हुनसक्ने भएकाले यसतर्फ सम्बन्धित निकायको विशेष ध्यानाकर्षण गराउन चाहन्छौं ।" संघले भनेकाे छ ।

होटल उद्योगसँग सम्बन्धित हरेक विषयमा अन्तरमन्त्रालय, सम्बन्धित विभाग, सरकारी निकाय तथा सरोकारवाला संघ–संस्थाबीच आवश्यक समन्वय कायम गरी समस्याको दीर्घकालीन तथा व्यावहारिक समाधानका लागि राज्यसँग समन्वय र सहकार्य तथा सहयोग गर्नका लागि होटल संघ नेपाल सदैव तत्पर रहेको संघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर