
काठमाडौँ । थाइल्याण्ड भ्रमणमा रहेका पर्यटन व्यवसायी तथा होटल संघ नेपाल, बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेको टोलीले बैंककस्थित नेपालका लागि थाइल्याण्डका राजदूत धनबहादुर ओलीसँग शिष्टाचार भेटघाट गरेको छ ।
भेटमा नेपाल–थाइल्याण्ड पर्यटन सहकार्यका सम्भावना र नेपालको पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको जनाईएको छ । भेटका क्रममा नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रभावकारी रूपमा स्थापित गर्ने उपाय, थाइल्याण्डको सफल पर्यटन अभ्यासबाट नेपालले लिन सक्ने सिकाइ, दुई देशबीच पर्यटक आवागमन विस्तार तथा पर्यटन व्यवसायीबीच सहकार्यका विषयमा छलफल भएको थियो।
विश्व पर्यटन बजारमा लामो समयदेखि प्रभावशाली गन्तव्यका रूपमा स्थापित थाइल्याण्डले समुद्री पर्यटनमा मात्र निर्भर नरही संस्कृति, धार्मिक तथा आध्यात्मिक पर्यटन, खानपान, साहसिक गतिविधि, स्वास्थ्य तथा कल्याण पर्यटन, किनमेल, मनोरञ्जन, सम्मेलन तथा कार्यक्रम पर्यटन र स्थानीय जीवनशैलीलाई समेत पर्यटन उत्पादनका रूपमा विकास गरेको विषयलाई नेपालका लागि महत्वपूर्ण सिकाइ हुने भेटका क्रममा बताईएको छ ।
थाइल्याण्डले विभिन्न गन्तव्य र फरक–फरक पर्यटक समूहका आवश्यकता सम्बोधन गर्ने गरी पर्यटन उत्पादनको विविधीकरणमा जोड दिँदै आएको बारे टोली जानकारी समेत हासिल गरेको छ।
त्यसैगरी, पर्यटन प्रवर्द्धनमा सरकारी निकाय र निजी क्षेत्रबीचको समन्वय, गन्तव्यको छुट्टै पहिचान निर्माण, अन्तर्राष्ट्रिय प्रचार–प्रसार, गुणस्तर सेवा, पर्यटकको सुरक्षा तथा सहज आवागमनलाई थाइल्याण्डले प्राथमिकतामा राखेको विषयमा पनि छलफल भएको थियो। पछिल्लो समय थाइल्याण्डले पर्यटकको विश्वास अभिवृद्धि गर्न आवास, भुक्तानी, विदेशी भाषामा सञ्चार तथा यातायात पहुँचजस्ता पक्षलाई समेटेर सेवा मापदण्ड सुदृढ गर्ने प्रयाससमेत अघि बढाएको बारे समेत टोलीले जानकारी लिएको छ।
बकेले थाइल्याण्ड जस्तै समुद्री तट नभए पनि हिमाल, जैविक तथा प्राकृतिक विविधता, विश्वसम्पदा, धार्मिक तथा सांस्कृतिक सम्पदा, साहसिक पर्यटन, वन्यजन्तु, योग, आयुर्वेद र मौलिक नेपाली आतिथ्यजस्ता विशिष्ट पर्यटन उत्पादन नेपालमा रहेको बताए। यिनलाई एउटै राष्ट्रिय पर्यटन पहिचानभित्र जोडेर अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी ढङ्गले प्रस्तुत गर्न सके नेपालले पर्यटनबाट अपेक्षाकृत ठूलो आर्थिक लाभ लिन सक्ने उनको भनाई थियो ।
उनका अनुसार नेपालले थाइल्याण्डको नक्कल गर्नेभन्दा त्यहाँको पर्यटन व्यवस्थापन, बजार प्रवर्द्धन, सेवा गुणस्तर, निजी क्षेत्रसँगको सहकार्य र गन्तव्य विकासको अभ्यासबाट सिक्दै आफ्नै मौलिक विशेषतालाई विश्व बजारमा स्थापित गर्नुपर्छ। विशेषगरी नेपालको पर्यटन प्रवद्र्धनलाई राजधानी र केही सीमित गन्तव्यमा केन्द्रित नराखी पोखरा, चितवन, लुम्बिनी, सौराहा, इलाम, मुस्ताङ, मनाङ, सुदूरपश्चिमलगायतका विभिन्न गन्तव्यलाई फरक–फरक पर्यटन अनुभवका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिएका थियो।
थाइल्याण्डको स्थानीय गन्तव्य र समुदायलाई पर्यटनको मूलधारमा जोड्दै पर्यटकको खर्चलाई स्थानीय अर्थतन्त्रसम्म पुऱ्याउने अभ्यास पनि नेपालका लागि महत्वपूर्ण शिक्षा र सिकाई हुन सक्ने सो अवसरमा छलफल भएको थियो ।
पछिल्लो समय थाइल्याण्डले दिगो तथा स्थानीय समुदायमा आधारित पर्यटन, उच्च मूल्यका पर्यटक र स्थानीय उत्पादनलाई जोड दिने रणनीति अघि बढाएको छ।
छलफलमा डिजिटल प्रविधिको प्रयोगमार्फत पर्यटकलाई यात्रा योजना बनाउनेदेखि गन्तव्यमा पुगेपछि सेवा तथा गतिविधि छनोट गर्नेसम्म सहज बनाउने थाइल्याण्डको अभ्यासबारे समेत चर्चा भएको थियो। थाइल्याण्डको पर्यटन प्राधिकरणले सन् २०२६ मा पर्यटकको यात्रा अनुभवलाई डिजिटल रूपमा एकीकृत गर्ने नयाँ प्रविधिमैत्री प्रणाली अघि बढाएको छ ।
नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रमा अनुभव आदानप्रदान, संयुक्त प्रवर्द्धन, व्यवसायीबीच प्रत्यक्ष सहकार्य तथा पर्यटक आवागमन विस्तार गर्न यस्ता भेटघाट उपयोगी हुने विश्वास व्यक्त गरिएको छ। नेपालको पर्यटनलाई थप प्रतिस्पर्धी, गुणस्तरीय र अन्तर्राष्ट्रिय बजारमुखी बनाउन सरकार, कूटनीतिक नियोग र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरू एकमत देखिएका थिए।
राजदूत ओलीले देखाएको आत्मीय आतिथ्यता, सद्भाव र सहकार्यका लागि बकेले धन्यवाद व्यक्त गर्दै थाइल्याण्डजस्तो सफल पर्यटन गन्तव्यसँगको प्रत्यक्ष अनुभव आदानप्रदान नेपालका पर्यटन व्यवसायीका लागि महत्वपूर्ण रहेको बताएका थिए ।

