२०८३ आश्विन २० • मंगलबार

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ सुरु, ५५ भन्दा बढी ब्रान्ड सहभागी

Text size

काठमाडौं । नेपालकै सबैभन्दा ठुलो अटो एक्स्पो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को दोस्रो संस्करणको उक्त एक्स्पोको उद्घाटन प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले गरेका थिए ।

यही साउन २६ देखि ३१ गते (११–१६ अगस्ट २०२६) सम्म आयोजना हुने एक्स्पोमा ५५ वटा ब्राण्डका ४० भन्दा बढी नयाँ सवारीसाधनका मोडलहरू प्रदर्शनमा राखिएका छन् । उद्घाटन समारोहमा नेपाल सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका अधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, नाइमाका पदाधिकारी तथा सदस्य कम्पनी, प्रदर्शनी साझेदार र अटोमोबाइल क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।

नेपालकै सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनीका रूपमा आयोजित एक्स्पोमा ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल तथा मोबिलिटी ब्रान्ड सहभागी छन् । एक्स्पोमा नयाँ प्रविधि, विद्युतीय सवारी, नवप्रवर्तन तथा दिगो मोबिलिटीसँग सम्बन्धित उत्पादन तथा सेवाहरू प्रदर्शनीमा राखिएको छ ।

एक्स्पो अवधिभर प्रदर्शनीसँगै लर्निङ सेसन्स, पोलिसी डाइलोग्स र इन्डष्ट्रि इन्टर्याक्सन्स् लगायतका कार्यक्रम सञ्चालन हुनेछन् । स्वदेशी तथा विदेशी विज्ञ, उद्योगी, नीति निर्माता, विद्यार्थी तथा अन्य सरोकारवालाबीच ज्ञान आदानप्रदान र उद्योगका समसामयिक विषयमा छलफल गराउने उद्देश्य आयोजकको छ ।

कार्यक्रममा नाइमाकी अध्यक्ष रितुले एक्स्पोले नेपालको मोबिलिटी क्षेत्रको वर्तमान अवस्था प्रस्तुत गर्नुका साथै यसको आगामी दिशाबारे छलफल गर्ने महत्वपूर्ण मञ्चका रूपमा भूमिका निर्वाह गर्ने बताइन् । साथै, उनले यसपटकको एक्स्पोमा प्रविधि, नवप्रवर्तन र दिगो मोबिलिटीका क्षेत्रमा भएका नवीनतम विकासलाई नेपाली उपभोक्तासमक्ष ल्याएको जानकारी दिइन् ।

एक्स्पो प्लानिङ कमिटीका अध्यक्ष गौरव सारडाले यसपटक प्रदर्शनीसँगै लिर्निङ सेसन्स, तालिम तथा जनचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकता दिएको बताए । उनका अनुसार एक्स्पोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, उद्योग नेतृत्व, विद्यार्थी र सरोकारवालालाई एउटै मञ्चमा ल्याएर ज्ञान आदानप्रदान, सीप विकास तथा सुरक्षित र जिम्मेवार मोबिलिटीबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले एक्स्पो प्रदर्शनी, सिकाइ र जनचेतनाको केन्द्रका रूपमा रहने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर