२०८३ आश्विन २० • मंगलबार

नाट्टा कोषाध्यक्ष पदमा डिकी शेर्पाको उम्मेदवारी

Text size

काठमाडौं। राष्ट्रिय विभूति एवं नेपालको पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाकी छोरी डिकी शेर्पाले नाट्टाको आगामी कार्यकालका लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

उनले ट्राभल एजेन्ट्सहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आगामी निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन्।

नाट्टाको ५९ औं वार्षिक साधारणसभा तथा २५ औं कार्यसमितिको निर्वाचन आगामी साउन २९ गते काठमाडौंमा हुने तय भएको छ । त्यसको पुर्वसन्ध्यामा पर्यटन तथा ट्राभल टेक्नोलोजी क्षेत्रमा १४ वर्षभन्दा बढी अनुभव हासिल गरेकी शेर्पाले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन्।

थामसेर्कु ट्राभलकी निर्देशकसमेत रहेकी शेर्पाले पर्यटन व्यवसायको व्यावहारिक अनुभवसँगै संस्थागत नेतृत्वमा आफ्नो भूमिका विस्तार गर्ने उद्देश्यसहित नाट्टाको निर्वाचनमा होमिएको बताइन्।

हाम्रो सफरकी संस्थापक हुन शेर्पाले आइटा एजेन्सीको नेतृत्वसँगै डिजिटल ट्राभल सेवा र कर्पोरेट ट्राभल व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी छन्। उनले नेपालको पर्यटन क्षेत्रमा प्रविधिमैत्री सेवाको विस्तारमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्।

पर्यटन व्यवसायमा नवप्रवर्तन, पारदर्शिता र गुणस्तरीय सेवालाई प्राथमिकता दिँदै शेर्पा आफ्नो अनुभवलाई सदस्यकेन्द्रित र सशक्त नाट्टा निर्माणका लागि उपयोग गर्न प्रतिबद्ध रहेको बताउँछिन्।

ट्राभल तथा पर्यटन व्यवसायमा लामो समयदेखि सक्रिय उनले पर्यटन क्षेत्रका चुनौती, व्यवसायीका समस्या तथा बदलिदो पर्यटन बजारको आवश्यकतालाई नजिकबाट बुझ्दै आएकोले आफूले कुशलतापूर्वक जिम्मेवारी बहन गर्नसक्ने बताएकी छन्।

नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बनाउन निजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाई छ ।

पर्यटन व्यवसायीका समस्या समाधान, संस्थागत पारदर्शिता, आर्थिक अनुशासन तथा व्यवसायमैत्री वातावरण निर्माणमा कोषाध्यक्षका रूपमा प्रभावकारी भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता जनाएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर