२०८३ मंसिर ४ • शुक्रबार

ब्रोड पिकमा अस्ताएका आरोहीप्रति हङकङमा श्रद्धाञ्जली

Text size

काठमाडौं । ब्रोड पिकको हिमपहिरोमा ज्यान गुमाएका नेपाली ६ जना सहित दशै जना मृतक आरोहीको सम्झनामा हङकङमा श्रद्धाञ्जली सभा गरिएको छ।

किर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा मगर (निम्सदाइ) सहित र उनीसँगै मृत्यु भएका आरोहण दलका सबै सदस्यको सम्झनामा हङकङमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

१२औँ अग्लो हिमाल ब्रोड पिक आरोहण गर्ने क्रममा गत जुलाई ३० का दिन भीषण हिमपहिरोमा परी निधन भएका निम्सदाइसहित १० आरोहीप्रति हङकङस्थित नेप्लिज अल्ट्रा ट्रेल रनिङ एसोसिएसनले गत बिहीबार साँझ कार्यक्रम आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरेको हो।

जोर्डनस्थित याक्थुङ चुम्लुङको भवनहलमा आयोजित श्रद्धाञ्जली सभामा दीप प्रज्वलन, पुष्पगुच्छा अर्पण र एक मिनेट मौनधारण समेत गरिएको थियो।

कार्यक्रममा सुष्मा गुरुङले नेपाल, अमेरिका, ओमान, पाकिस्तान र चीनका गरी दिवंगत १० आरोहीहरूको शोकपूर्ण जीवनी वाचन गरेकी थिइन्।

नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत सतिश गुरुङले राज्यस्तरबाट हुनुपर्ने शोकसभा कार्यक्रम एक संस्थाको अग्रसरतामा हुनु सराहनीय भएको बताए।

आयोजक संस्थाका सल्लाहकार राजकुमार राईले विश्वविख्यात् आरोही पुर्जाको असाधारण योगदानको उच्च कदर गर्दै हङकङमा पहिलोपटक यस्तो शोकसभा आयोजना गरिएको जानकारी दिए । राईले पुर्जा एक कुशल पर्वतारोही मात्र नभई सफल लेखक, रोलमोडल, सामाजिक अभियन्ता र बेलायती गोर्खा सेनाको विशेष फोर्सका पूर्वसैनिकसमेत रहेको स्मरण गराए।

कार्यक्रममा आयोजक संस्थाले पुर्जालाई ‘राष्ट्रिय विभूति’ घोषणा गर्नुपर्ने माग गर्दै नेपाल सरकारलाई अनुरोध पत्र पठाउने जानकारी दिएको छ । विदेशी पर्वतारोहीहरूलाई नेपाल भित्र्याएर पर्यटन क्षेत्रबाट देशको अर्थतन्त्रमा ठुलो टेवा पुर्‍याएको तथा अनेकौँ विश्व कीर्तिमान कायम गरेर देशको गरिमा बढाएका कारण उनको कदरका लागि पुर्जालाई ‘राष्ट्रिय विभूति’ घोषणा गरिनुपर्ने संस्थाको तर्क रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर