
काठमाडौं।नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी कार्यकालका लागि अध्यक्ष पदकी उम्मेदवार जिस्वान तुलाधरले पर्यटन व्यवसायको आधुनिकीकरण, नीतिगत सुधार, व्यवसायीको हित संरक्षण तथा संस्थागत सुदृढीकरणलाई केन्द्रमा राख्दै आफ्नो १२ बुँदे निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक गरेकी छन्।
सार्वजनिक प्रतिबद्धता–पत्रमा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन र डिजिटल बजारीकरण, पर्यटनसम्बन्धी नीतिगत तथा कानुनी सुधार, नयाँ उद्यमी तथा साना व्यवसायलाई प्रोत्साहन, व्यवसाय संरक्षण तथा राहत हस्तक्षेप, आउटबाउन्ड पर्यटनलाई आधिकारिक मान्यता, साहसिक तथा नयाँ पर्यटन विधाको प्रवर्द्धन, क्षमता अभिवृद्धि, संस्थागत पारदर्शिता, प्रदेशस्तरीय सञ्जाल सुदृढीकरण, समावेशी नेतृत्व, दिगो पर्यटन प्रवर्द्धन तथा IATA र टिकटिङ प्रणाली सुधारलाई प्रमुख एजेन्डाका रूपमा समेटिएको छ।
तुलाधरले पर्यटन व्यवसायीको हकहितलाई केन्द्रमा राख्दै नाट्टालाई अझ प्रभावकारी, पारदर्शी र व्यवसायमैत्री संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। आगामी नेतृत्वले पर्यटन क्षेत्रका विद्यमान चुनौती समाधान गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने विश्वास उनले व्यक्त गरेकी छन्।
श्रेष्ठले नेतृत्व गरेको टिममा बिष्णु पाण्डे वरिष्ठ उपाध्यक्ष, प्रज्ञा पाठक शर्मा उपाध्यक्ष, सुशील पन्त महासचिव, रमेश घिमिरे सचिव, कृष्णप्रसाद ढकाल कोषाध्यक्ष र डा. बिमला दाहाल सह–कोषाध्यक्षका रूपमा प्रस्तुत गरिएको छ।

त्यस्तै कार्यसमिति सदस्यतर्फ प्रदीप आचार्य, सुदर्शन गजुरेल, दिनेश घिमिरे, त्रिलोचन न्यौपाने, अनु राउत (अधिकारी) र रोजिना रञ्जितकार रहेका छन्।


