
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले पाकिस्तानस्थित ब्रोड पिकमा हिमपहिरोमा परी बेपत्ता भएका नेपाली आरोहीहरूको खोज तथा उद्धार कार्यलाई तीव्र, प्रभावकारी र उच्च प्राथमिकताका साथ अघि बढाउन पाकिस्तान सरकारसँग औपचारिक आग्रह गरेको छ।
नेपाल पर्वतारोहण संघका कार्यवाहक अध्यक्ष ईश्वरी पौडेलको नेतृत्वमा रहेको संघको प्रतिनिधिमण्डलले शुक्रबार बिहान नेपालस्थित पाकिस्तानी दूतावासमा पाकिस्तानका लागि नेपालस्थित राजदूत महामहिम मोहम्मद आमीर खान तथा दूतावासका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेको छ। भेटका क्रममा प्रतिनिधिमण्डलले ब्रोड पिकमा हिमपहिरोमा परी बेपत्ता भएका नेपाली आरोहीहरूको खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ तीव्र बनाउन विशेष अनुरोध गरेको हो।
प्रतिनिधिमण्डलमा द्वितीय उपाध्यक्ष बोधराज भण्डारी, महासचिव राजेन्द्रबहादुर लामा, सचिव चन्दन थापा, कोषाध्यक्ष सुमी लामा र सदस्य सन्देश शेर्पा सहभागी थिए।
सो अवसरमा महामहिम राजदूत खानले घटनाप्रति दुःख व्यक्त गर्दै पाकिस्तान सरकार, पाकिस्तान अल्पाइन क्लब तथा स्थानीय उद्धार निकायहरूसँगको समन्वयमा खोज तथा उद्धार अभियान युद्धस्तरमा सञ्चालन भइरहेको जानकारी दिए । साथै, उद्धार कार्यलाई सफल बनाउन आवश्यक सबै प्रयास जारी रहेको पनि उनले बताए ।
नेपाल पर्वतारोहण संघले बेपत्ता आरोहीहरूको सकुशल उद्धारका लागि सम्बन्धित सबै निकायसँग निरन्तर समन्वय र पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

