
काठमाडौं । सरकारले पाकिस्तानस्थित ब्रोड पिकमा हिमपहिरोमा ६ जना नेपाली पर्वतारोही परेको घटनामा पाकिस्तान सरकारसँग समन्वय भइरहेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै इस्लामाबादस्थित नेपाली दूतावासले पाकिस्तान सरकारका सम्बन्धित निकाय तथा अल्पाइन क्लब अफ पाकिस्तानसँग समन्वय गर्दै प्रभावित सबै आरोहीको शीघ्र र सुरक्षित उद्धारका लागि पहल गरिरहेको जनाएको छ ।
उता पाकिस्तानका अधिकारीहरूले पनि खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दूतावासलाई गराईरहेका छन्।
पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ नेतृत्वको ब्रोड पिक आरोहण टोलीमा नेपालका पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, नीमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन्। टोलीमा ओमानकी नधिरा अहमद अब्दुल्ला अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ तथा अमेरिकाकी म्यालोरी गाइस पनि सहभागी छन्।
परराष्ट्र मन्त्रालयले पाकिस्तान सरकारबाट खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन उपलब्ध सबै स्रोत–साधन परिचालन गर्ने प्रतिबद्धता प्राप्त भएको जनाएको छ ।
अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङको शव भेटिएको जनाईएको छ ।
Photo Credit: Seven Summit Treks Pvt Ltd

