२०८३ आश्विन २० • मंगलबार

ब्रोड पिक हिमालमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन

Text size

काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जासहितको १० जना आरोहीको टोली हिमपहिरोमा परेपछि सम्पर्कविहीन बनेको छ।

अल्पाइन क्लब अफ पाकिस्तानका वरिष्ठ उपाध्यक्ष करार हैदरीद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार दिउँसोको समयमा हिमपहिरो गएको थियो । त्यहाँ हिमपहिरो गएपछि उक्त आरोही टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन् ।

टोलीमा निम्स दाई भनेर चिनिने प्रख्यात पर्वतारोही निर्मल पुर्जा, एक पाकिस्तानी पर्वतारोही, हुन्जाका सोहेल सखी, एक ओमानी पर्वतारोही नाथिरा, अमेरिकी पर्वतारोही म्यालोरी गीस, एक चिनियाँ पर्वतारोही वाङ र एक अर्का विदेशी पर्वतारोही रहेको जनाइएको छ ।

त्यस्तै, पर्वतारोहण सञ्चालक संघ, नेपालले ब्रोड पिकमा बेपत्ता भएका नेपालीसहित सम्पूर्ण आरोहीहरूको खोज तथा उद्धारका लागि नेपाल सरकारसँग तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेको छ।

संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई घटनालाई उच्च प्राथमिकतामा राखी आवश्यक समन्वय गर्न, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई घटनाबारे आधिकारिक धारणा सार्वजनिक गर्दै सम्बन्धित निकायहरूसँग समन्वय गर्न, पर्यटन विभागलाई पर्वतारोहणसम्बन्धी सम्पूर्ण सूचना संकलन गरी आवश्यक सहजीकरण गर्न तथा परराष्ट्र मन्त्रालयलाई पाकिस्तान सरकार र सम्बन्धित निकायहरूसँग तत्काल कूटनीतिक पहल गरी खोज तथा उद्धार कार्यमा उपलब्ध सबै सम्भावित स्रोत, साधन र संयन्त्र परिचालनका लागि औपचारिक पहल गर्न आग्रह गरेको छ।

त्यसैगरी, पर्वतारोहण सञ्चालक संघ, नेपालले पाकिस्तान सरकार तथा त्यहाँका पर्वतारोहणसम्बन्धी संघ–संस्थाहरूलाई पनि खोज तथा उद्धार कार्यलाई तीव्रता दिन अनुरोध गरेको छ। खोज तथा उद्धार अभियानमा आवश्यक पर्ने कुनै पनि सहयोग गर्न आफूहरू पूर्ण रूपमा तत्पर रहेको संघले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर