२०८३ आश्विन २० • मंगलबार

चतुर तामाङको ऐतिहासिक विश्व कीर्तिमान : एल्ब्रस हिमालको २००औँ सफल आरोहण

Text size

काठमाडौं । माउन्टेन गाइड चतुर तामाङ युरोपको अग्लो शिखर माउन्टेन एल्ब्रस (५,६४२ मिटर) को दुई सयौं पटक सफल आरोहण गरी ऐतिहासिक विश्व किर्तिमान बनाएका छन् ।

शनिवार (जुलाई २५) तारिखका दिन रुसको समय अनुसार बिहान ६:२० बजे माउन्टेन एल्ब्रसको ऐतिहासिक २००औँ सफल आरोहण सम्पन्न गरेका हुन् ।

पछिल्लो एक सातामै उनले विभिन्न देशका आरोहीलाई सुरक्षित रूपमा शिखर पुर्‍याएका छन् । तामाङले जुलाई १७ मा मलेसियाली टोलीलाई बिहान, जुलाई १८ मा भारतीय टोलीलाई तथा जुलाई २० मा अर्का एक मलेसियाली आरोहीसँग बिहान एल्ब्रसको शिखरमा पुर्‍याएका थिए। उक्त आरोहण उनको १९७ औँ सफल आरोहण थियो। त्यसको दुई दिनपछि, जुलाई २२ मा उनले अन्तर्राष्ट्रिय टोलीलाई सुरक्षित रूपमा शिखर पुर्‍याउँदै १९८औँ पटक सफल आरोहण पूरा गरे।

यसपछि यही जुलाई २३ मा अन्य अन्तर्राष्ट्रिय आरोहीसगैँ १९९ औं पटक सफल आरोहण गरेका तामाङले शनिबार २०० औं पटकको कीर्तिमानी आरोहण सफल गरेका हुन् ।

तामाङले आफ्ना २०० औं पटक एल्ब्रस आरोहणमा नेपालको राष्ट्रिय झण्डा युरोपको सबैभन्दा अग्लो शिखरमा पुर्‍याएका छन् । जसले अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा नेपालको गौरव र नेपाली पर्वतारोहीको योगदानलाई झल्काएको छ ।

सोलुखुम्बु निवासी तामाङ सन् १९९५ देखि व्यावसायिक पर्वतारोहणमा सक्रिय छन्। चतुर तामाङको बाल्यकाल घाँसदाउरामै बितेको थियो । सामान्य परिवारमा जन्मिएका उनले एसएलसीसम्मको अध्ययन गाउँमै पूरा गरे । त्यसपछिको पढाइका लागि तामाङलाई आर्थिक अभाव भयो ।

काम खोज्दै काठमाडौं आएका उनले सुरुमा पर्वतारोहणमा क्षेत्रमा भारी बोक्ने काम गरे । भारी बोक्दै बिस्तारै पर्वतारोहण यात्रामा तामाङले अरु कामहरु पनि सिक्दै गए । उनले सन् १९९५ बाट पर्वतारोहणको यात्रा सुरु गरेका थिए । सन् २००२ देखि रुसमा बस्दै आएका तामाङले माउन्ट एल्ब्रस २०० पटक आरोहण गर्ने लक्ष्य बनाएका थिए। उनी आधा समय नेपाल र आधा समय रुसमा बिताउने गर्छन्। रुसका आरोहीहरूलाई नेपाल ल्याएर यहाँका विभिन्न हिमालहरू आरोहण गराउने उनी, बाँकी समय रुसमै बसेर अन्तर्राष्ट्रिय आरोहीहरूलाई माउन्ट एल्ब्रस आरोहण गराउने कार्यमा संलग्न छन्।

उनले भने, ‘यो हिमाल आरोहण गर्न गाह्रो नै छ ।’ माउन्ट एल्ब्रसमा आफूले जस्तो अहिलेसम्म कसैले रेकर्ड नबनाएको बताउँदै तामाङ आफूले सुरुदेखि कै आरोहणको रेकर्ड राखेको बताए ।

हालसम्म तामाङले सगरमाथा, ल्होत्से, कञ्चनजंघा, चोयु, मनास्लु, अमादब्लम, बरुन्ट्से, आइसल्यान्ड पिक, मेरा पिक लगायत पिकहरुकाे आरोहण गरिसकेका छन् ।

उनले सन् २००१–२००२ मा दार्जिलिङमा आधारभूत तथा एडभान्स माउन्टेनियरिङ कोर्स गरेका छन्। साथै, तामाङको आफ्नै चतुर्स ट्रेक एन्ड एक्स्पिडिसन कम्पनी पनि छ। सोही कम्पनीमार्फत उनले नेपालका विभिन्न हिमालहरूमा स्वदेशी तथा विदेशी आरोहीहरूलाई आरोहण गराउँदै आएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर