२०८३ आश्विन २० • मंगलबार

युरोप र अस्ट्रेलियासंग प्रत्यक्ष हवाई सेवा जोड्दै हिमालय जेट, पर्यटनमा टेवा पुग्ने

Text size

काठमाडौं । नेपाललाई बेलायत, युरोप र अस्ट्रेलियासँग प्रत्यक्ष लामो दूरीको हवाई सेवामार्फत जोड्ने लक्ष्यसहित अघि बढिरहेको हिमालय जेटले आफ्नो तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

स्रोतका अनुसार नेपालमा करिब तीन वर्षसम्म राजनीतिक तथा नियामकीय चुनौती सामना गरेपछि बहुप्रतीक्षित हिमालय जेट परियोजना अहिले अन्तिम तयारीको चरणमा पुगेको हो। कम्पनीले नेपाललाई बेलायत, युरोप र अस्ट्रेलियासँग प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने आफ्नो दीर्घकालीन लक्ष्यलाई साकार पार्ने प्रारम्भिक तयारी पूरा गरिसकेको जनाएको छ।

नेपाल विश्वका आठ वटा अग्ला हिमालहरूको घर तथा प्रमुख पर्यटकीय गन्तव्य भए पनि विगत ३५ वर्षभन्दा बढी समयदेखि प्रत्यक्ष लामो दूरीको हवाई सेवाको अभावका कारण अन्तर्राष्ट्रिय पर्यटक र गैरआवासीय नेपाली सहज हवाई पहुँचबाट वञ्चित रहँदै आएको हिमालय जेटले उल्लेख गरेको छ। कम्पनीले आफ्नो परियोजनाले यो अवस्थाको अन्त्य गर्दै नेपालको पर्यटन, व्यापार र अन्तर्राष्ट्रिय सम्पर्कलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

स्रोतका अनुसार यो उपलब्धि पुस्तौँदेखिको समर्पण, निरन्तर मेहनत र अटल प्रतिबद्धताको परिणाम हो। विश्वका अग्रणी उड्डयन विज्ञ तथा परामर्शदाताहरूको सहयोग, अन्तर्राष्ट्रिय नागरिक उड्डयन निकायहरू तथा नीति निर्माताहरूसँगको समन्वय र बेलायत, युरोप तथा अस्ट्रेलियाका अन्तर्राष्ट्रिय मान्यता प्राप्त एयर अपरेटरहरूसँगको साझेदारीमार्फत प्रारम्भिक उडान सञ्चालनको व्यवस्था गरिएको छ।

हिमालय जेटले आफ्नै एयर अपरेटर सर्टिफिकेट (एआओसी) प्राप्त नगरेसम्म साझेदार एयरलाइन्समार्फत सेवा सञ्चालन गर्ने योजना बनाएको छ। त्यसपछि नेपाल युरोपेली युनियनको हवाई सुरक्षा सूचीबाट हटाइने अपेक्षासँगै आफ्नै एओसीअन्तर्गत पूर्ण रूपमा नियमित उडान सञ्चालन गरिने कम्पनीको भनाइ छ। कम्पनीले निकट भविष्यमा लन्डनमा आयोजना गरिने आफ्नो पहिलो अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनमार्फत परियोजनासम्बन्धी विस्तृत जानकारी सार्वजनिक गर्ने जनाएको छ ।

अनुभवी पाइलट तथा क्याबिन क्रूहरूको व्यवस्थापन साझेदार एयरलाइन्समार्फत गरिसकिएको छ भने बेलायत, युरोप र अस्ट्रेलियामा ग्राउन्ड ह्यान्डलिङ सेवा सम्बन्धित योग्य जीएसए मार्फत सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

हिमालय जेटले यो परियोजना नेपाललाई विश्वसँग प्रत्यक्ष रूपमा जोड्ने, पर्यटन प्रवद्र्धन गर्ने तथा भविष्यमा हजारौँ रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजनाको महत्त्वपूर्ण सुरुवात भएको स्रोतले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर