२०८३ आश्विन २० • मंगलबार

एभरेस्ट समिटर्स समिट–२०२६ : पर्यटन विभागकाे अनुसन्धान

Text size

काठमाडौं । एभरेस्ट एलायन्स नेपालको आयोजनामा सपन्न भएको एभरेस्ट समिटर्स समिट –२०२६ कार्यक्रम सम्बन्धी परेको उजुरीमाथि पर्यटन विभागले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

विभागले उजुरीका विषयमा अध्ययन गरी आफ्नो राय दिन नेपाल पर्वतारोहण संघ (एनएमए) र पर्वतारोहण सञ्चालक संघ नेपाल (ईओए) लाई पत्राचार गरेको छ ।

पर्यटन विभागका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको उजुरीको प्रतिलिपिसहित सम्बन्धित विषयमा अध्ययन गरेर यथाशीघ्र धारणा उपलब्ध गराउन दुबै संस्थालाई पत्राचार गरेको छ । विभागले २०८३ असार १५ गतेको निर्णय अनुसार उजुरी उपर जाँचबुँझ शुरु गरेको हो ।

२०२६ मे २७ मा काठमाडौंस्थित सोल्टी होटलमा सम्पन्न कार्यक्रमको पारदर्शिता र वैधानिकता माथि प्रश्न उठाउँदै अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

उजुरीमा एकै परिवारका सदस्यहरुको नाममा अुनभव बिना नै सगरमाथा सम्बन्धी संस्था खडा गरी लाखौं अनुदान लिएर, दर्ता शुल्क उठाएर चिनिया बैंकमा व्यक्तिगत खातामा रकम जम्मा गरी रकम हिनामिना गरेको आरोप लगाईएको छ ।

यसैगरी चिनियाँ पर्वतिय पर्यटन पक्षलाई नेपाल सरकारको आधिकारीक कार्यक्रम जस्तो देखाएर भ्रममापारी सगरमाथा आरोहण गरेको भनेर प्रमाणपत्र समेत वितरण गरेको आरोप छ । सगरमाथा आरोहण गरे नगरेको पर्यटन विभागबाट प्रमाणित नगरेको, अपारदर्शी रुपमा आर्थिक लाभ लिएर प्रमाण पत्र वितरण गरी विश्वभरीका आरोही तथा विभिन्न संघ संस्थाहरुलाई भ्रम सृजना गरेको आरोप उजुरीमा छ ।

यो वर्ष पनि सोही प्रकृतिको कार्यक्रम गर्न खोजेकोले सो कार्यक्रम स्थगित गरी सो संस्था तथा सम्बन्धीत व्यक्तिहरुमाथि अनुसन्धान गरी पर्वतिय पर्यटन क्षेत्रमा भएका बिकृतिलाई रोक्न उजुरीमा अनुरोध गरिएको छ । उल्लेखित आरोपहरुको पुष्टिका लागि व्यक्तिगत मोबाईल र कम्प्युटरको अनुसन्धान गर्न समेत आग्रह गरिएको छ ।

उजुरीमा पर्यटन विभागको स्वीकृतिबिना कार्यक्रम सञ्चालन गरिएको भन्दै सम्बन्धित संस्था र व्यक्तिमाथि छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न माग गरिएको छ।

उजुरीमा कार्यक्रम बारे निष्पक्ष अनुसन्धान गर्न र पर्वतीय पर्यटन क्षेत्रमा देखिएको भनिएको विकृति नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराईएको छ ।

एभरेस्ट एलायन्स नेपालले यी आरोपबारे हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन।

उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे लगायतको उपस्थितिमा हिमालय आरोहणमा उल्लेखनीय योगदान दिएका नेपाली तथा विदेशी पर्वतारोहीलाई सम्मान गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर