काठमाडौं। चिनियाँ लक्जरी सवारी ब्रान्ड हङसी कार नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ । नेपालमा विद्युतीय सवारीसाधनको माग र बिक्री निरन्तर बढिरहेका बेला अर्को प्रिमियम ईभी ब्रान्ड भित्रिन लागेको हो।
चिनियाँ सरकारी स्वामित्वको एफएडब्लू (FAW) ग्रुपअन्तर्गतको लक्जरी कार ब्रान्ड हङसीलाई नेपालमा एडभान्स्ड अटोमोबाइल प्रालिले आधिकारिक रूपमा भित्र्याएको हो।
कम्पनीले केही समयअघि हङसीसँग आधिकारिक वितरकको सम्झौता गरेसँगै नेपाल मोबिलिटी एक्स्पो २०२६ (नाइमा) मा प्रदर्शनका लागि विद्युतीय सवारी आयात प्रक्रिया सुरु गरिसकेको जनाएको छ।
कम्पनीका अनुसार सुरुवाती चरणमा हङसीका दुई विद्युतीय एसयूभी मोडल नेपाली बजारमा सार्वजनिक गरिनेछन्। प्रदर्शनीमा ई–एचएस९ र ई–एचएस७ मोडल प्रदर्शन गरिने तयारी छ। यी गाडीको ब्याट्री क्षमता तथा मोटरसम्बन्धी विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।
नेपाल आउने हङसीका विद्युतीय एसयूभीको प्रारम्भिक मूल्य करिब ६० लाखदेखि ६५ लाख रुपैयाँको हाराहारीमा रहने अनुमान गरिएको छ।
हङसीले हाल आन्तरिक दहन इन्जिन (आईसीई), हाइब्रिड तथा पूर्ण विद्युतीय (बीईभी) गरी तीन प्रकारका सवारी उत्पादन गर्दै आएको छ। कम्पनीको आधिकारिक वेबसाइटअनुसार हङसीसँग हाल ई–एचएस९, ई–एचएस७, ईएच७ र ई–क्यूएम५ सहित चार विद्युतीय मोडल उपलब्ध छन्।
एक समय चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेतृत्व र विदेशी राष्ट्र प्रमुखका लागि मात्र प्रयोग हुने यो ब्रान्ड अहिले विश्व बजारमा तीव्र रूपमा विस्तार भइरहेको प्रिमियम तथा विद्युतीय सवारी ब्रान्डमध्ये एकका रूपमा स्थापित भएको छ।

