
काठमाडौँ। ललितपुरको ऐतिहासिक तथा सांस्कृतिक पर्व रातो मच्छिन्द्रनाथ (मत्स्येन्द्रनाथ) रथलाई लगनखेलबाट जावलाखेलतर्फ लागिएको छ। पश्चिम यात्राका रूपमा परिचित यो चरण जात्राको अत्यन्त महत्वपूर्ण भाग मानिन्छ।
धार्मिक आस्थासँगै यो पर्व नेवार समुदायको समृद्ध सांस्कृतिक सम्पदा, सामाजिक सद्भाव र ऐतिहासिक परम्पराको जीवित प्रतीकका रूपमा परिचित छ। वर्षा, सहकाल र समृद्धिका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको रथ प्रत्येक वर्ष ललितपुरका विभिन्न बस्ती तथा चोकहरू परिक्रमा गराइन्छ। नेपालका सबैभन्दा लामो समयसम्म सञ्चालन हुने जात्रामध्ये एक मानिने यो रथयात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भई असार शुक्ल चतुर्थीसम्म चल्ने परम्परा छ।
पुल्चोकमा विधिपूर्वक रथारोहण गरेपछि सुरु हुने यात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुग्छ। जावलाखेलमा परम्परागत रूपमा भोटो देखाउने जात्रा सम्पन्न गरिन्छ, जसलाई रथयात्राको मुख्य आकर्षणका रूपमा लिइन्छ। भोटो जात्रा सम्पन्न भएपछि मच्छिन्द्रनाथको प्रतिमालाई सानो खटमा राखी बुंगमती लगिने चलन छ। त्यससँगै वार्षिक रथयात्राको औपचारिक समापन हुने गर्दछ।
संस्कृतिविद्हरूका अनुसार मच्छिन्द्रनाथसँग विद्या, धन, शान्ति, समृद्धि र सुख–सम्पन्नताको कामना गर्न सकिने भए पनि बाह्य रूप–रङ्ग सुन्दर बनोस् भनेर माग्ने परम्परा छैन।
पौराणिक कथाअनुसार काठमाडौँ उपत्यकामा लामो समयसम्म खडेरी र अनिकाल परेपछि वर्षाका देवता मानिने आर्यावलोकितेश्वर अर्थात् मच्छिन्द्रनाथलाई उपत्यकामा ल्याइएको थियो। उहाँको आगमनपछि वर्षा भई अनिकाल अन्त्य भएको विश्वास गरिन्छ। यही घटनाको स्मरणमा तत्कालीन राजा नरेन्द्रदेवले रातो मच्छिन्द्रनाथ जात्राको सुरुआत गराएको किंवदन्ती रहेको छ।
त्यसयता राम्रो वर्षा, सहकाल र जनकल्याणको कामनासहित यो जात्रा हरेक वर्ष मनाइँदै आएको छ।

